काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकमा विद्यमान सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने बताए।
पार्टी निकट अखिल नेपाल महिला संघद्वारा आयोजित प्रशिक्षण तथा तीज विशेष कार्यक्रममा उहाँले समाजमा सबै प्रकारका विभेदको अन्त्य गरी समानता, न्याय, मानव अधिकार, समानुपातिक, समावेशी प्रतिनिधित्वका माध्यमबाट समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्न सकिने बताए।
अध्यक्ष नेपालले संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित हालको प्रणालीले महिला वर्गको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व बढिरहेको तथा शिक्षा, स्वास्थ्य, उद्यमशीलताले सम्पत्तिमाथिको स्वामित्वमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे।
उनले महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रयास भएको र सामाजिक सशक्तीकरणको पर्वका रूपमा तीजलाई सद्भावका रूपमा मनाउनुपर्ने बताए।
महिला संघका इन्चार्ज एवं पार्टी उपाध्यक्ष जयन्ती राईले तीज पर्वको मौलिक विशेषता संरक्षण, सांस्कृतिक पक्षको प्रवर्द्धन गर्दै विकृतिलाई हटाउनुपर्ने उल्लेख गरे।
त्यसका लागि महिला सचेत भएर राम्रा पक्षलाई अनुसरण गर्नुपर्नेमा उनले जोड दिए। त्यस अवसरमा नाचगानसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।