काठमाडौं। हवाई दुर्घटनालाई न्यूनिकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न नीति अवलम्बन गर्दै आएको छ। खासगरी वर्षातको समयमा हुने हेलिकोप्टर दुर्घटनालाई रोक्न प्राधिकरणले चार उडानपछि अनिवार्य ३० मिनेट इन्जिन सटडाउन र पाइलटलाई आरामको व्यवस्था लागू गराएको हो।
यस्तै, प्राधिकरणले सिमिकोट हिल्सा नियमित उडान गरेको १५ दिनपछि पाइलट नै परिवर्तन गरी आराम गर्न दिनुपर्ने नीति समेत ल्याएको छ। वर्षायाम सुरुभएसँगै हुम्लाको सिमिकोटबाट हिल्सा उडानमा हेलिकोप्टरहरु लागिरहेको छ। भारतीय पर्यटकहरुलाई कैलाश मानसरोबर दर्शनका लागि लैजान भन्दै अहिले धेरै हेलिकोप्टरहरु हुम्लाको सिमिकोटमा रहेका छन्।
भारतीय र नेपालीहरु अहिले मानसरोबर दर्शनका लागि गइरहेको बेला प्राधिकरणले कुनै अप्रिय दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ हेलिकोप्टर चालकलाई टाइम कार्ड लागू गरिएको सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
हेलिकोप्टर कम्पनी सञ्चालकको दबाब र प्रभावमा परेर धेरै उडान गर्दा पाइलटहरुमा धेरै थकान हुने र मानविय क्षति हुन सक्ने भएकोले त्यसलाई रोक्नका लागि हरेक चार उडानपछि ३० मिनेट हेलिकोप्टरको इन्जिन सटडाउन गर्नुपर्ने र सोहीबेला अनिवार्य रुपमा पाइलटले आराम गर्नुपर्ने नीति लागू गरिएको प्राधिकरणका सूचना अधिकारी भूलको भनाइ छ।
नयाँ नीति लागू गरेपछि अहिले सिमिकोट हिल्सा उडानमा सकरात्मक प्रभाव परेको दाबी समेत प्राधिकरणले गरेको छ।
आर्थिक लाभको लोभमा हेलिकोप्टर कम्पनीहरुले प्रतिस्पर्धात्मक रुपमा उडान गर्दा दुर्घटना हुन सक्ने र अस्वस्थ्य प्रतिस्पर्धा हुनबाट रोक्नका लागि प्राधिकरणले यो नीति लागू गरेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा उडान गर्नुपर्ने र अक्सिजनको सहारा लिनुपर्ने बाध्यता भएकोले पनि पाइलटलाई १५ दिनपछि केही समयका लागि नियमित उडान गर्नबाट रोक्नुपर्ने र अर्को पाइलटलाई जिम्मा दिनुपर्ने छ।
नयाँ नीति लागू गरेपछि अहिले सिमिकोट हिल्सा उडानमा सकरात्मक प्रभाव परेको दाबी समेत प्राधिकरणले गरेको छ। यता, हेलिकोप्टर सञ्चालकहरुले भने प्राधिकरणले अनावश्यक नीति ल्याएर व्यवसायनै चौपट पार्न खोजेको आरोप लगाएका छन्। नाम नखुलाउने सर्तमा वायुसेवा सञ्चालक संघका एक सदस्यका अनुसार प्राधिकरणले सुरक्षाको नाममा व्यवसायनै चौपट हुने नीतिहरु लागू गरेको छ।
नियामक निकायले जारी गरेको नीतिनियम मान्नुपर्ने बाध्यात्मक परिस्थितिअनुसार चार उडानपछि ३० मिनेट इन्जिन सटडाउन गरिरहेको जानकारी दिँदै यसले व्यवसायमा भने ठूलो घाटा बेहोरिरहेको ती सदस्यको भनाइ छ। हिल्सा सिमिकोट उडान सेप्टेम्बर अन्तिम अर्थात असोज १५ गतेसम्म नियमित हुनेछ।