काठमाडौं। पाँचपटकसम्म म्याद थप गरिएको सरकारको प्रशासनिक मुख्यालय सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टम परीक्षण गरिएको छ। अत्याधुनिक प्रविधि पछ्याएर निर्माण भइरहेको संसद् भवनको सिस्टम परीक्षणसहित डेमो प्रदर्शन गरिएको हो।
नेपालको संसद् भवनमा प्रयोग गरिएको सिस्टम अन्तर्राष्ट्रिय स्तरको रहेको सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले बताए।
संसद् भवनमा आधुनिक प्रणाली जडान गरिँदै छ भने विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली अपनाइएको सहकारी किवास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए।
‘नयाँ संसद् भवनमा प्रविधिबारे उपप्रधान एवं सहरी विकासमन्त्रीज्यूलाई ब्रिफिङ गरिएको छ। संसद् भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ ? परीक्षण पनि गरियो,’ विभागका महानिर्देशक महर्जनले भने।
उनका अनुसार प्रतिनिधिसभामा ३५४ वटा र राष्ट्रिय सभामा ९४ वटा डिभाइस हरेक टेबलमा जडान हुनेछन्। नयाँ संसद् भवनमा जडान हुने प्रविधि अहिलेको संसद भवनको भन्दा थप उन्नत र अत्याधुनिक हुनेछ।
सांसदले आफ्नो कुर्सीमा जडित डिभाइसबाट मत विभाजनका क्रममा मत दिन सकिने, संसदमा प्रस्तुत विधेयक र अन्य डकुमेन्ट सीधै डिभाइसमा हेर्न मिल्नेछ भने संसदको क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ।
भवन निर्माणसँगै संसदभित्रको प्राविधिक पक्ष उन्नत बनाउन उपप्रधानमन्त्री सिंहले जोड दिएका छन्। नयाँ प्रविधिले संसदको कामकारबाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास उनको छ।

नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसहित संघीय संसदका महासचिव, सचिव, सचिवालयका प्रतिनिधिबीच नयाँ प्रणालीले कसरी काम गर्छ भनेर परीक्षण गरेर देखाइएको थियो।
सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको म्याद पाँचौं पटक थपिएको छ। निर्माण कार्य झन्डै ६ वर्षदेखि जारी छ र अहिलेसम्म करिब ८६ प्रतिशत मात्र सम्पन्न भएको छ।
निर्माण व्यवसायीको एक वर्षको म्याद थपको मागलाई सम्बोधन गर्दै सरकारले ६ महिनाको म्याद थप गरेको छ। उपप्रधानमन्त्रीले समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्, तर काम कहिले सकिने टुंगो छैन।