काठमाडौं। पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भुटानबीच सम्झौता भएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ भुटानिज टुर अपरेटर्स (एब्टो)बीच दुई देशको पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ सम्झौता भएको हो।
सम्झौता पत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले हस्ताक्षर गरेका छन्। सहमति पत्रले दिगो पर्यटन प्रवर्द्धन गर्ने साझा दृष्टिकोणसहित पर्यटन विकासमा सहकार्यलाई संस्थागत गर्ने आधार निर्माण गरेको नाट्टाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।
दुवै संस्था आपसी जानकारी आदान-प्रदान, विचार र सीपको साझेदारी गर्दै यात्रा व्यापार उद्योगलाई सुदृढ पार्ने र नेपाल-भुटानका साथै दक्षिण एसियाली क्षेत्रमा दिगो पर्यटन प्रवर्द्धन गर्ने विषयमा सहमत भएका छन्।
सम्झौताले सांस्कृतिक संरक्षण, वातावरणीय दायित्व र सामुदायिक सहभागितालाई प्राथमिकता दिने र पर्यटनलाई सकारात्मक परिवर्तनको शक्तिमा रूपान्तरण गर्ने विश्वास लिइएको छ।
नाट्टका अध्यक्ष थपलियाले उक्त सम्झौताले नेपाल र भुटानबीचको आपसी पर्यटन प्रवर्द्धनलाई अझ बलियो बनाउँदै हिमाली क्षेत्रलाई दिगो पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।
एब्टोका अध्यक्ष ग्याल्त्सेनले नेपाल र भुटान सांस्कृतिक, आध्यात्मिक र प्राकृतिक सम्बन्धले गाँसिएका राष्ट्र भएकाले पर्यटनबाट जनजीवनमा प्रत्यक्ष लाभ पुर्याउने, परम्पराको संरक्षण गर्ने र प्राकृतिक सम्पदाको सुरक्षा गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइने बताए।