काठमाडौं। पहिरोका कारण तीन सातादेखि अवरुद्ध कोदारी सडक बिहीबारदेखि आंशिक रुपमा खुलाइएको छ। सडक अवरोध खुलेसँगै ठप्प रहेको व्यापारिक नाका तातोपानी पनि खुलाइएको हो।
गत साउन १७ मा अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिकाको इको क्षेत्रमा पहिरोले सडक भासिएपछि नेपाल–चीनको प्रमुख व्यापारिक नाका तातोपानी ठप्प थियो।
निरन्तरको झरीका कारण उक्त क्षेत्रमा पहिरो जाने क्रम अझै नरोकिए पनि पन्छाउन सडक डिभिजन कार्यालय चरीकोट, भोटेकोसी गाउँपालिका तथा व्यवसायीले अस्थायी रुपमा सडक खुलाएका हुन्।
सडक अवरुद्ध हुँदा दसैं, तिहार, छठजस्ता चाडपर्व लक्षित चीनतर्फ रोकिएका सामान नेपाल भित्र्याउन कठिन हुँदै आएको थियो।
व्यवसायीले तीन सातादेखि सडक बन्द हुँदा ठूलो आर्थिक घाटा बेहोर्नुपरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ अध्यक्ष बुद्धराज बस्नेतले बताए। सडक खुले पनि पानी पर्दा फेरि पहिरो जाने त्रास कायमै रहेको उनको भनाइ छ।
बिहीबार अड्किएका सामग्री बोकेका ३० वटा कन्टेनर भन्सार यार्डमा पुगेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
नेपालतर्फबाट हालसम्म ६ वटा खाली कन्टेनर चीन पठाइसकिएको छ। थप २० वटा कन्टेनर मितेरी पुल छेउमा पठाइन लागेको भन्सारले बताएको छ। हाल नेपाल छिरेका कन्टेनरको संख्या ४५ वटा रहेका छन्।
चिनियाँ भूभागतर्फ न्यालम, ढिंग्रे, खासा र जाङ्बु पोर्टमा करिब ५०० कन्टेनर रोकिएका छन्। सडक अवस्था सामान्य रहे ती कन्टेनर दुई दिनभित्र नेपाल भित्रिने व्यवसायी बताउँछन्। कोदारी सडक सरकारी निकाय, निजी क्षेत्र र सम्बन्धित व्यवसायीको सहकार्यमा पहिरो पन्छाएर अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो।
रसुवागढी भन्सार पुगिने अर्को व्यापारिक नाका साउन १४ को बाढीले क्षति पु–याएको स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड २२ दिन बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।
सडक अवरुद्ध हँदा यात्रु पैदल यात्रा गर्न बाध्य छन् भने टिमुरे बजारको व्यापार पनि ठप्प छ। लेन्दे्रखोलो बाढीले करिब दुई किलोमिटर सडक कटान गरेपछि यातायात पूर्ण रूपमा अवरुद्ध छ।