काठमाडौं । सरकारले एक साताको लागि लक डाउन गरेपछि पदयात्रामा गएका सयौ पर्यटकहरु अलपत्र परेका छन् । अलपत्र परेका पर्यटकहरुलाई काठमाडौंसम्म सरकारले नै ल्याईदिने र सम्बन्धित मुलुकमा फिर्ता पठाउने निर्णय उच्चस्तरीय समन्वय समितिले गरेको थियो ।
तर,बिहीबारदेखि लुक्ला,पोखरा र मुस्ताङबाट केही पर्यटक हरु उद्वार भएपनि साना देश र थोरै समुहमा आएका पर्यटकहरू भने अलपत्रमा परेका छन् ।
युरोपिएन मुलुकका राजदुतावासको सिफारिसमा बिहीबार र शुक्रबार लुक्ला र पोखराबाट जहाज चार्टर गरेर २ सय भन्दा बढी पर्यटक उद्वार गरिएको छ ।उद्वार गरिएका पर्यटकहरु जर्मन ,फ्रान्स र अस्ट्रेलियाका रहेका छन् ।
ठुला र राजदुतावासमा पहुँच भएका पर्यटकहरुलाई उद्वारमा सरकारले तदारुकता देखाए पनि साना मुलुक बाट आएका पर्यटकहरु भने अलपत्रमा परेका छन् । ती पर्यटकहरुलाई कहिले काठमाडौं ल्याउने र विदेश पठाउने भन्ने टुंगो छैन ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले सबै पर्यटकलाई एकैपटक काठमाडौंसम्म ल्याउने वातावरण मिलाईदिन सरकार सग आग्रह गरेका छन् । ‘नेपाल आएका सबै पर्यटक एकै हुन,’ अध्यक्ष सुवेदीले भने ‘,सबैलाई समान प्राथमिकता दिनुपर्छ ।’
सबै पर्यटकलाई एकैपटक चार्टर गरेर ल्याउन सके ती पर्यटक ले पनि भाडा तिर्न सक्ने अवस्था हुने उनले बताए ।
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय का सचिव केदार बहादुर अधिकारीले अलपत्र पर्यटक लाई धमाधम उद्वार गरिरहेको जानकारी दिए । उनले कहाँ कहाँ अलपत्र परेका छन् ती ठाउँमा रहेको स्थानीय तह,नेपाल पर्यटन बोर्ड र सिधै पर्यटन मन्त्रालयमा जानकारी गराउन आग्रह गरे ।
अहिले विभिन्न राजदुतावासको सिफारिसमा पर्यटक उद्वार गरिरहेको जानकारी दिदै दुतावासबाट सिफारिस नआएका हरु लाई परराष्ट्र मन्त्रालय मार्फत सहजिकरण गरि केही दिन भित्रै सबै पर्यटकलाई उद्वार गरि सम्बन्धित देशमा पठाउने सचिव अधिकारीले क्यापिटल लाई जानकारी दिए ।
लुक्लाबाट २८ जना फ्रान्स ,जर्मन र अस्ट्रेलियाका पर्यटक लाई काठमाडौं पठाईएकाे विमानस्थल प्रमुख इमानाथ अधिकारी ले जानकारी दिए । पदयात्रामा गएर फर्किने क्रम जारी रहेको ले पर्यटकको संख्या केही थपिने बताउदै हाल सम्म १७० जना भन्दा बढी लुक्लामा अाएर बसेका छन् । त्यस्तै पाेखरामा १ सय ५० भन्दा बढी पर्यटकहरु राेकिएका छन् ।