काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संस्कृतिको जगेर्ना, प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकासका लागि सरकार क्रियाशील रहेको बताएका छन्।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत पर्यटन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नागरिक उड्डयन क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए।
उनले अब बन्ने पर्यटन ऐन र नियमावलीमा सात हजार मिटर माथिका हिमाल आरोहण नगरी सगरमाथा चढ्न नपाउने प्रावधानको व्यवस्था गरिने बताए। “आगामी दिनहरूमा सगरमाथा माथिको ‘प्रेसर’ लाई घटाउन सरकार प्रतिबद्ध छ”, उनले भने।
पर्यटनको विविधतालाई ख्याल गर्नुपर्ने धारणा राख्दै मन्त्री पौडेलले एउटै मात्र क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने र त्यसबाट मात्रै पर्यटनलाई आधारित गराउँदै जाने हो भने त्यो दिगो र ‘सस्टेनेबल’ हुन नसक्ने बताए। “त्यसका लागि पर्यटनका विभिन्न आयामहरूमा प्रवेश गर्नैपर्छ भनेर आरोग्य पर्यटन जस्ता योजना ल्याइएको हो”, उनले भने।
मन्त्री पौडेलले लक्ष्यअनुसार पर्यटक भित्र्याउन पर्यटकीय गतिविधि व्यवस्थित रूपमा अगाडि बढाउने, जीर्ण विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराए।
पर्यटक आगमन अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा सरकारी, निजी, गैरसरकारी, दातृ निकाय र ‘डायस्पोरा’ सँगको सहकार्यलाई सरकारले जोड दिएको उनको भनाइ थियो।
मन्त्री पौडेलले निजगढ विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाउने योजनामा मन्त्रालय रहेको स्पष्ट पारे।