काठमाडौं। सरकारले चाडपर्व लक्षित गरी सडक मार्मत सम्भार सुरु गरेको छ। देशका मुख्य राजमार्गमा भएका खाल्डाखुल्डी मर्मत सम्भारको काम सुरु गरिएको हो।
सडक विभागले चाडपर्व लक्षित सडक मर्मत कार्य योजना तयार गरी सडक मर्मत सम्भार सुरु गरेको प्रवक्ता तथा उप-महानिर्देशक ई. प्रभात कुमार झा बताउँछन्।
‘दैनिक मर्मत कार्य निरन्तर चालु रहेको छ,’ उनले भने, ‘चालु रहेका ठेक्काअन्तर्गत सम्बन्धित निर्माण व्यवसायीबाट खाल्ड मर्मत गरिने र भाद्र अन्तिम साताबाट मसान्तसम्म खाल्डा खुल्डी पुर्ने कार्य सम्पन्न गरिने छ।’
उनका अनुसार भत्किएका ठूला खण्डमा ग्राभेल गरी मर्मतमार्फत सतह मिलाइने छ। पहिरोग्रस्त क्षेत्रमा यान्त्रिक उपकरण तैनाथ रहेको र पहिरो गएमा तत्काल यातयात सुरु गराउने व्यवस्था रहेको छ।
झ्याप्लेखोला र कृष्ण भिर क्षेत्रमा पहिरो नियन्त्रणका लागि स्लोप स्टेबिलाइजेसनको कार्य भइरहेको छ। स्लोप स्टेबिलाइजेसन प्रविधिमार्फत ढलानमा जमिन बग्न वा खस्न नदिई स्थिर राख्ने विभिन्न उपायहरू हुन्छ। जस्तै- पर्खाल निर्माण, ग्याबियन, वृक्षरोपण आदि कार्य हुन्छ। यो प्रविधिबाट पहिरो रोक्ने सकिन्छ।
महेश खोलाको कटान नियन्त्रण कार्य सम्पन्न भएको प्रवक्ता झा बताउँछन्। सो खोलाको टेवा पर्खाल बनाउने कार्य जारी रहेको उल्लेख गरे। बायो इन्जिनिरिङ वर्कसमार्फत भू-संरक्षण गर्ने कार्य भइरहेको छ। पुल तथा कल्भर्ट निर्माण र नाली निर्माण तथा सफा गर्ने कार्य भइरहेको झाले बताए।
विभागले जोखिमपूर्ण सडक खण्ड पहिचान पनि गरेको छ। नागढुङ्गा-नौबिसे, नौबिसे-मलेखु र मलेखु-मुग्लिङ्ग खण्डमा पर्ने जोखिमपूर्ण स्थानहरू पहिचान गरिएको हो। यसमा नागढुङ्गा पात्लेवन, झ्याप्लेखोला, सिस्नेखोला, खत्रीपौवा, चारकिला, सातकिला, कमरे, चिरौंदी पुल, जरेखेत, चालिसे, परेवाभिर, मलेखु, रातमाटे, बाँदरे, कृष्ण भिर, जवाङ खोला, मौवा खोला, फिस्लिंग र घोप्टे भिर जस्ता क्षेत्रहरू रहेको प्रवक्ता झा बताउँछन्।
यसका साथै विभिन्न स्थानमा सडक सुरक्षाका स्ट्यान्ड-बाई उपकरणहरू राखिएको उनले बताए। पहिरो वा बढीले समस्यामा परेका यात्रुलाई उद्धार तत्कालै गरिने व्यवास्था मिलाएको उनले बताए।