काठमाडौं। नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ।
सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्याउन दुई करोड ५६ लाखको लागतमा ती आयोजना सम्पन्न गरिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
गतवर्ष उपत्यका पृतनाअन्तर्गत एक, पूर्वी, मध्यपूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतनाअन्तर्गत तीन/तीन वटा शीध्र प्रभावी आयोजना कार्यान्वयनमा ल्याएको थियो।
इतिहाससँगै स्थानीय संस्कृतिको जगेर्ना तथा नेपाल एकीकरणको दौरान प्रयोग भएका रणनीतिक एवं ऐतिहासिक महत्वका विभिन्न मठमन्दिर, कोटगढी र दरबारको मर्मत–सम्भार गरिएको छ। सेनाले पुरातत्व विभागसँगको समन्वयबाट परम्परागत निर्माण सामग्रीको प्रयोग गरी बाजुरा स्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ।
गत वर्ष सेनाले उदयपुरस्थित चौदण्डी गढी, ओखलढुङ्गाको तलुवागढी, चितवनको उपरदांग गढी, नुवाकोटको बेलकोट गढी, लमजुङको पुरानकोट, सुर्खेतको बयलकाँडा गढी, डडेलधुराको अमरगढी र पाल्पाको माथागढी तथा गुल्मीको मुसिकोट दरबारको स्तरोन्नति तथा मर्मत–सम्भार गरेको प्रवक्ता बस्नेतले जानकारी दिए।
त्यसैगरी सामाजिक मूल्य र मान्यतालाई अक्षुण्ण राखी एकताभाव जागृत गर्ने सांस्कृतिक तथा पर्यटकीय महत्वकाविभिन्न सम्पदाको जगेर्ना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। इलामको माई स्थान मन्दिर, रामेछापको तिल्केस्थान गढीमा रहेको देवी मन्दिर, नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरको स्तरोन्नति गरिएको छ।
चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला, मुस्ताङस्थित कागबेनीमा श्राद्ध स्थलमा ट्रसघर, पर्वतको कटुवाचौपारीमा पुजारी बस्ने कोठासहितको ट्रसघर निर्माण गरिएको छ। गत आवमा सम्पन्न भएका शीघ्र प्रभावी आयोजना सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको पनि सेनाले जनाएको छ।