काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए)का नवनिर्वाचित टिमलाई नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।
कांग्रेस, नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्रसहित स्वतन्त्र व्यवसायीको साझा उम्मेद्धवारको रुपमा अगाडी बढेका फुर गेल्जे शेर्पासहितको टिम आइतबार निर्वाचित भएका थिए।
निर्वाचनको बेला कांग्रेससहितको सम्पूर्ण दल र स्वतन्त्रहरुले सहयोग गरेर निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष शेर्पासहितको टिमनै सोमबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। नवनिर्वाचित टिमलाई बधाई दिँदै सभापति देउवाले हिमाल संरक्षण र हिमालसँग जोडिएर काम गर्नेहरुको हकहितमा काम गर्न सुझाव समेत दिएका छन्।
हिमाल सम्बन्धि काम गर्नका लागि एनएमएले ल्याउने प्रस्तावमा कांग्रेसको सधैं साथ रहने बताउँदै सरकारको तर्फबाट पनि साथ दिलाउनका लागि प्रयत्न गर्ने प्रतिबद्धता समेत सभापति देउवाले गरेका छन्।
नवनिर्वाचित अध्यक्ष शेर्पा स्वतन्त्र उद्यमी एवं लोकतान्त्रिक मूल्यमा विश्वास राख्ने अग्रगामी सोच भएका व्यक्तित्व भएकोले कांग्रेसले पूर्ण रुपमा साथ दिएर विजयी गराएको व्यवसायी एवम् कांग्रेस नेता आरबी अधिकारीको भनाइ छ।
शेर्पा समूहलाई जिताउनका लागि नेपाली कांग्रेसको तर्फबाट नेताहरु बल बहादुर केसी, किशोरसिंह राठौर, राजेन्द्र बजगाईं, जिप छिरिङ लामा, आङ छिरिङ शेर्पा, प्रकाश सिङ कार्की, आरबी अधिकारी (कुमार) र डम्बर पराजुलीसहितका टिम लागि परेका थिए। यस्तै, टिम निर्माणको नेतृत्व तथा संयोजनमा व्यवसायीहरु शंकर भट्ट, धन प्रसाद गुरुङ, नबिन त्रिताल, नकुल देवकोटा, सोनाम ग्याजेन शेर्पा, पसाङ शेर्पा,अशोक बहादुर केसी, तुलसिहं गुरुङ र देवेश शर्मा लागेका थिए।