काठमाडौं। गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने उपायको खोजीमा तीन मन्त्रीहरूले अनुसन्धान सुरु गरेका छन्।
सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि दुई अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकेर आलोचना भइरहेको बेला उपप्रधान एवंम अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी छलफलमा जुटेका हुन्।
योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहितलाई राखेर तीन मन्त्रीहरुले दुई अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका उपायबारे छलफल गरेका हुन्।
मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा दुई विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान कसरी गर्न सकिन्छ? त्यसका लागि सरकारले गर्नुपर्ने दायित्वबारे छलफल भएको भेटमा सहभागी एक सचिवले जानकारी दिए।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपायहरु पहिचान गरी अघि बढ्ने पनि छलफल भएको छ।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलगायत सहभागी थिए।