काठमाडौं। पर्यटकीय सिजन सुरु हुनै लाग्दा पाँचतारे होटलमा ग्राहक तानातान गर्न अस्वस्थ्य प्रतिस्पर्धा सुरु भएको छ। होटलकाे संख्या धेरै भएको र पर्यटकको संख्या घटिरहेको बेला आफ्नोतर्फ आकर्षण गराउन होटलहरुले विभिन्न अफर ट्राभल एजेन्सीहरुलाई दिन थालेका हुन्।
अहिले प्रतिस्पर्धात्मक रुपमा पर्यटक तान्ने प्रवृत्तिकाे कारण १३०/१४० अमेरिकी डलर पर्ने पाँचतारे होटलका कोठा अहिले १०० देखि ११० डलरमै दिन थालिएकाे व्यवसायीहरुको भनाइ छ।
‘होटल खाली राख्नु भन्दा सस्तो दरमै कोठा दिएर भए पनि ग्राहक राख्न तिव्र प्रतिस्पर्धा व्यवसायीहरुमा सुरु भएको छ,’ पाँचतारे होटलका एक सञ्चालकले भने, ‘अझ धेरै ग्रुप ल्याउने एजेन्सीलाई धेरैभन्दा धेरै छुट दिएर आकर्षण गर्न थालिएको छ।’
सेप्टेम्बरदेखि नेपालमा पर्यटकीय सिजन सुरु हुन्छ। अर्थात, विदेशीहरु ट्राभल र ट्रेकिङ (पदयात्रा) का लागि नेपाल आउने गर्छन। नेपालीहरु पनि दशैं, तिहारको बिदा धेरै हुने भएकोले सोही समयमा पदयात्राका लागि निस्कने गर्छन्। खासगरी, विदेशी पर्यटकलाई लक्षित गरी उपत्यका भित्रका पाँचतारे होटलमा आउने ग्राहकलाई ट्राभल एजेन्सीहरुले ल्याउने संख्याको आधारमा विशेष छुट दिएर आकर्षण गराइरहेको जनाएको छ।
विदेशी पर्यटकलाई लक्षित गरी उपत्यका भित्रका पाँचतारे होटलमा आउने ग्राहकलाई ट्राभल एजेन्सीहरुले ल्याउने संख्याको आधारमा विशेष छुट दिएर आकर्षण गराइरहेको जनाएको छ।
अहिले नेपालमा ३० लाख पर्यटकलाई राख्न सक्ने क्षमताका होटलहरु सञ्चालनमा छ। तर, वार्षिक १० देखि १२ लाख मात्र पर्यटक आइरहेका छन्। जसको कारण संख्यात्मक रुपमा होटलको कोठाको संख्या धेरै रहेको र पर्यटकको संख्या कम रहेकोले पनि पर्यटकलाई तानातान गरिरहेको बताइएकाे छ।
होटल एसोसिएन अफ नेपाल(हान)का एक पदाधिकारीका अनुसार व्यवसायीबीच तिव्र प्रतिस्पर्धा भइरहेको छ। ‘होटलबीच मूल्य घटाउने प्रवृत्तिले ग्राहकलाई फाइदा पुगे पनि व्यवसायमा नकारात्मक असर पुगिरहेको छ,’ ती पदाधिकारीले भने, ‘अस्वस्थ्य प्रतिस्पर्धामा कोठा दिँदै जाँदा व्यवसायनै संकटमा पर्ने निश्चित देखिन्छ।’
पुरानोलाई धौधौं
नयाँ होटलको तुलनामा पुराना होटलको सञ्चालन खर्च समेत कम हुने भएकोले सस्तोमै कोठा बेच्दा पनि खासै घाटा हुँदैन। तर, प्रतिस्पर्धात्मक रुपमा पुराना होटलले पनि सस्तोमा कोठा बेच्दा सञ्चालन खर्च समेत धान्न सक्ने स्थितिमा नरहेपनि कोठा खाली नराख्नका लागि सस्तोमै कोठा दिन बाध्य भएको एक होटल सञ्चालकले बताए।
‘ट्राभल एजेन्सीहरुले पनि होटलहरुबीच बार्गेनिङ गर्दै आएका छन्,’ ती सञ्चालकले भने, ‘एक अर्कोलाई देखाउदै सस्तोमा कोठा लिएर ठूलो मात्रामा छुट लिने गरेका छन्।’
होटलको संख्या धेरै हुनु र पर्यटकको संख्या कम हुँदाको सबैभन्दा बढी फाइदा अहिले ट्राभल एजेन्सीहरुले लिइरको व्यवसायीहरुकाे स्वीकारोक्ति छ। व्यवसायीहरुले पनि ग्रुपमा आउने पर्यटकको संख्या हेरेर छुट दिने गरेको जनाएका छन्। ‘संख्यात्मक रुपमा धेरै आउँदा केही फाइदा पुग्छ,’ ती व्यवसायीले भने।