काठमाडाैं। नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरकाे आयाेजनामा थाइल्यान्डको बैंककमा सम्पन्न पाटा ट्राभल मार्ट २०२५ मा नेपालले आफ्नो 'नेपाल पभेलियन' मार्फत उल्लेखनीय सफलता हासिल गरेको छ। अगस्ट २६ देखि २८ सम्म आयोजित साे मार्टमा नेपालले पर्यटन प्रवर्द्धन र ब्रान्ड पहिचान स्थापित गर्न सफल भएको हो।
नेपाल एयरलाइन्स र १४ वटा निजी पर्यटन कम्पनीहरूसँगको सहकार्यमा तयार गरिएको स्तूप-थिममा आधारित 'नेपाल पभेलियन' सबै सहभागीहरूको लागि आकर्षणको केन्द्र बन्यो। यसले अन्तर्राष्ट्रिय खरीदकर्ता र प्रदर्शकहरूको ध्यान आकर्षित गर्दै प्रशंसा बटुल्यो। पभेलियनले नेपालको पर्वतारोहण, पदयात्रा, अध्यात्म, वेलनेस, र समुदायमा आधारित पर्यटनलगायत विविध पर्यटकीय अनुभवहरूलाई प्रस्तुत गरेको थियो। यसबाट नेपालको सार्वजनिक–निजी साझेदारीको सफल मोडेल पनि अन्तर्राष्ट्रिय स्तरमा उजागर भएको बताइएकाे छ।
मार्टको दौरान आगामी वर्ष २०२६ जुन २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने हिमालयन ट्राभल मार्टको छैटौं संस्करणको पनि प्रवर्द्धन गरिएको थियो। पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले ६ वर्षपछि पर्यटन बोर्डसँगको सहभागिता 'अत्यन्तै प्रभावकारी र सार्थक' रहेको बताए।
यस्तै, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले मार्टमा नेपालको सामूहिक उपस्थिति फलदायी रहेको उल्लेख गरे। यसले विश्व पर्यटन बजारमा नेपाललाई वर्षभरि नै भ्रमण गर्न सकिने एक अद्वितीय हिमाली गन्तव्यका रूपमा प्रस्तुत गरेको उनकाे भनाइ छ। स्काल इन्टरनेशनल नेपालका अध्यक्ष रमेश लुइँटेलले नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरबीचको उत्कृष्ट समन्वयको प्रशंसा गर्दै बिक्रेताको रूपमा क्रेताहरूसँगको भेटघाट उत्साहजनक रहेको बताए।
पाटा ट्राभल मार्ट २०२५ मा ५० भन्दा बढी गन्तव्यका १ हजारभन्दा बढी प्रतिनिधिहरू र विभिन्न देशका २२५ क्रेता तथा ४०० बिक्रेताहरूको सहभागिता रहेको थियो। मार्टको सफलतासँगै आगामी वर्षको पाटा ट्राभल मार्ट २०२६ अगस्ट १८ देखि २० सम्म मलेसियामा आयोजना हुने भएकाे छ।