चितवन। गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थय बिमामार्फत उपचार गराएका छन्। ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ।
सत्तरी वर्ष माथिकाको स्वास्थ्य बिमा निःशुल्क हुन्छ। एक पटक बिमा गरेपछि नवीकरण गरिरहनु पर्दैन। यसबाट उनीहरुले निःशुल्क उपचार पाउने गर्दछन्। सुरुमा नागरिकता र एकप्रति फोटो बुझाएपछि बिमामार्फत उपचार पाउँछन्। त्यसो त ज्येष्ठ नागरिकले बिमा शुल्कको प्रिमियम (साझेदारी) रकम बुझाउनु पर्दैन।
भरतपुर अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमका इञ्चार्ज लिलाधर पौडेलका अनुसार साउन महिनामा ८० वर्ष कटेका एक हजार ९८२ पटक ज्येष्ठ नागरिकले अस्पतालबाट सेवा लिएका छन्। जसमध्ये एक हजार ७७६ पटक स्वास्थ्य बिमामार्फत उपचार सेवा लिएका हुन्।
यो प्रतिशतको हिसाबले ८९ प्रतिशत हुन आउँदछ। सोही महिना ६० देखि ७९ वर्ष उमेरसम्मका १३ हजार ६५२ पटक उपचार लिएकोमा ८६ प्रतिशतअर्थात् ११ हजार ९२७ पटक स्वास्थ्य बिमाका रहेका छन्।
अस्पतालमा साउन महिनामा ६० हजार ४७२ पटक बिमामार्फत उपचार सेवा दिइएको छ। अधिकांश ज्येष्ठ नागरिक दीर्घरोगी हुने गरेका छन्। पौडेलका अनुसार मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल, प्रोष्ट्रेड, थाइराइडलगायतका हुने गरेका छन्।
स्वास्थ्य बिमामा नजोडीएका बाँकी ज्येष्ठ नागरिकलाई पनि सेवामा जोड्नुपर्ने पौडेल बताउँछन्। यसबाट विपन्न नागरिकले निःशुल्क सेवा पाउँदा उपचारबाट बञ्चित हुनुपरेको छैन।
भरतपुर अस्पतालको औषधि वितरण कक्ष (फार्मेसी)बाट औषधि लिएर फर्कदै गरेका हरिप्रसाद सिग्देल बुबाका लागि औषधि लिन आएका थिए। ९३ वर्षीय बुबा प्रेमनाथ सिग्देल उपाध्यायको नियमित प्रयोग हुने औषधि छोराले लिएर जाँदै छन्।
अस्पतालमा भरतपुर महानगर ५ की ७२ वर्षीया केशवती दवाडीका लागि श्रीमान् औषधिको लाइनमा थिइन्। उनले श्रीमतीको बिमाको कार्ड देखाउँदै भनिन्, ‘सधैँ आएर औषधि लैजाने गरेको छु।’
सरकारले बिमामार्फत ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र मासिक भत्ता दिन थालेपछि ज्येष्ठ नागरिक निकै खुसी हुने गरेका छन्।