काठमाडौं। लगातारको वर्षाका कारण बैतडीका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगेको छ। निरन्तरको वर्षापछि आएको पहिरोले जिल्लाको पाटन नगरपालिका ४ भट्टागाउँका धर्मानन्द भट्टको दुई तले पसल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
उनका अनुसार पसल भत्किँदाभित्र रहेका खाद्यान्न र किराना सामान गरी एक लाख बढीको क्षति भएको छ। उनले पुर्चौंडी नगरपालिका ३ खालीका कर्णबहादुर धामीको दुई वटा घर भत्किन सुरु भएको बताए।
वर्षाका कारण जमिन भासिएर घरको दुवैतर्फको पर्खाल चर्किन थालेकाले उक्त दुई घर पहिरोको उच्च जोखिममा रहेका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए। उनका अनुसार धामीको छ जनाको परिवार र पशुचौपायालाई सुरक्षित स्थानमा सारिएको छ।
‘मेलौली नगरपालिका ३ कुचगाँडका रामसिंह भाट र करणदत्त बागको घर पहिरोको जोखिममा परेका छन्। रामसिंहको घरछेउमा बाँधिराखेको खसी पहिरोले पुरेको छ। दुवै जनाको घरमा क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन,’ उनले भने।
जिल्लाको सुर्नया गाउँपालिका ३ बुढीबाँसका वीरसिंह विष्ट र मानसिंह विष्टको घर जोखिममा परेका हुन्। लगातारको वर्षाले आँगन भासिएर घर भत्किने अवस्थामा पुगेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरोका कारण दोगडाकेदार गाउँपालिका ३ इडाकोटका वीरभानसिंह भाट र नारायणसिंह भाटको घर जोखिममा परेपछि दुवैको परिवार आफन्तको घरमा बसिरहेका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए।
वर्षाका कारण विपद्को जोखिम बढेकाले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको बताउँदै सम्भावित जोखिम भएमा तत्काल उद्धारका लागि जिल्लास्थित सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।