काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह् लगाएका छन्। आज सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, ज्येष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी दिएको बताए। मुलुकमा शान्ति, सुव्यवस्था र सुुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न र सामाजिक न्याय कायम गर्न प्रहरीको अहं भूमिका रहेको उनको भनाइ थियो।
‘आमनागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउनु सबैको कर्तव्य हो। नागरिकको नजिक रहेर सुखदुःखको साथी बन्न सक्नु प्रहरीको प्रभावकारिताको मापन पनि हो। प्रहरीको साख बढाउन सफलता मिलोस्’, दुवाडीले भने, ‘सकल दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च बनाई प्रहरी संगठनको उद्देश्य पूरा गर्न सफल हुनेमा आशावादी छौं।’
समाजमा आपराधिक गतिविधि चुनौती बन्दै गएको उल्लेख गर्दै सचिव दुवाडीले अपराधका नयाँ नयाँ शृंखा बढिरहेकाले अपराधका गतिविधि नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्न जरुरी रहेको धारणा व्यक्त गरे।
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले आफूले सकेको राम्रो गर्ने बताए। ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्ने छैन’, उनले भने, ‘सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छु।’
अपराध अनुसन्धानमा चुनौती रहेको उल्लेख गर्दै नवनियुक्त महानिरीक्षक खापुङले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए।