काठमाडौं। उपप्रधान एवं तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन आर्थिक पत्रकारको भूमिका महत्त्पूर्ण हुने बताएका छन्।
आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले भने, ‘सरकारका नीतिगत त्रुटि वा कार्यान्वयनमा कमजोरी भए त्यसलाई प्रस्टसँग जनतासामु उजागर गर्नु सञ्चारको दायित्व हो’, सरकारले गरेका उपलब्धिबारे नागरिकलाई सुसूचित पार्नु पनि त्यत्तिकै महत्त्वपूर्ण छ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस–युक्रेन तनावलगायत कारण मुलुकको अर्थतन्त्रमा असर देखिएको र पछिल्लो समय सुधार हुँदै गएको बताए।
मुलुकको आर्थिक क्षेत्र सुधारका लागि निजी क्षेत्रबाट कसरी भूमिका खेल्न सकिन्छ भनेर महासंघले सधैं पहल गरिरहेको उल्लेख गर्दै उनले कानुनी र व्यावहारिक सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेको धारणा व्यक्त गरे। यद्यपि कानुन कार्यान्वयन कमजोर हुँदा सोचेअनुरुप नतिजा प्राप्त गर्न नसकेको ढकालको भनाइ छ।
नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्र सुधारका लागि कुन क्षेत्रमा कति लगानी आवश्यक छ र त्यसका लागि के–कस्ता नीतिगत तथा कानुनी सुधार गरिनुपर्छ भनेर परिसंघले अध्ययन गरिरहेको जानकारी दिए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रका सूचक विस्तारै सुधार हुँदै गए पनि निजी क्षेत्र अझै लगानीका तयार नभइसकेको बताए। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका सुझाव तथा सिफारिस कार्यान्वयनमा उनले जोड दिए।
कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूले सञ्चार क्षेत्रले सामना गरिरहेका चुनौती, पत्रकारिताको गुणस्तर र आर्थिक क्षेत्रसम्बन्धी अनुसन्धनात्मक समाचारको आवश्यकताबारे विचार व्यक्त गरेका थिए। अधिवेशनले सेजनको नयाँ नेतृत्व चयन गर्नेछ।