काठमाडौं। नेपालको उत्तरी छिमेकी चीनसँगका प्रमुख दुई नाका रसुवागढी र तातोपानी बन्द भएसँगै मुस्ताङको कोरला नाका आजदेखि सञ्चालन हुँदै छ।
दुई व्यापारिक नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित भएपछि सरकारले मुस्ताङस्थित कोरला नाका सञ्चालनमा ल्याउन लागेको हो।
चीनबाट कोरला नाका हुँदै पहिलोपटक सोमबारदेखि सामान भित्र्याउन लागिएको कोरला भन्सार कार्यालय प्रमुख अधिकृत रमेश खड्काले सामान जानकारी दिए। यसका लागि भन्सारमा सबै पूर्वाधार तयार भइसकेको उनको भनाइ छ।
गत असार २४ मा तिब्बततिरबाट आएको लेन्दे खोलाको बाढीले रसुवागढीस्थिगत नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट हुने व्यापार ठप्प छ भने निरन्तरको वर्षापछि तातोपानी पुग्ने बाह्रबिसे–कोदारी सडक खण्डको इको पहिरोल एक महिनासम्म सडक अवरुद्ध हुँदा व्यापारिक नाका तातोपानी ठप्प हुन पुगेको छ।
पहिरोले सडक नखुल्दा पारि सिगात्से, ल्हासा र न्यालाममा १५०० बढी मालवाहक कन्टेनर थन्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ अध्यक्ष बुद्धराज बस्नेतले बताए। व्यवसायीले ल्हासा र केरुङबाट सामान कोरला नाका हुँदै भित्र्याउन लागेका छन्।
ल्हासा र केरुङबाट घुमाएर कोरला नाका हुँदै सामान ल्याउन लागेको बताइन्छ। नाका नजिकै चीनतर्फ २ वटा कन्टेनर आइसकेको खड्काले बताए। दुवै कन्टेनर सोमबार बिहान नेपाल भित्र्याउने तयारी छ।
भन्सार विभागले चार जना कर्मचारी खटाएको छ भने नाकामा भन्सार महसुल बुझाउन प्रभु बैंकको काउन्टर राखिएको छ। व्यवसायीले कनेक्ट आइपीएसमार्फत भन्सार महसुल बुझाउन सक्नेछन्।
भन्सार अधिकृत खड्काले कोरला नाकाबाट लत्ताकपडा, जुत्ता चप्पल र विद्युतीय गाडी आयात हुने जानकारी दिए।
मुस्ताङको बाटो राम्रो हुँदा कोरलाबाट भित्र्याइएको सामान काठमाडौं लल्याउन सहज हुने उनको भनाइ छ।