काठमाडौँ । जेनजीको नाममा भएको आन्दोलनका क्रममा तीव्र आगजनीका साथै लुटपाटका घटनासमेत भएपछि नेपाली सेना सक्रिय भएको छ । मंगलबार राति १० बजेदेखि नेपाली सेना स्थितिलाई नियन्त्रणमा लिन परिचालित भएको हो ।
सेना परिचालन भएसँगै बुधबार राजधानीको स्थिति सामान्य छ । उपत्यकाका सडकमा नेपाली सेना छ्यापछ्याप्ती देखिएको छ भने चेकजाँचमा कडाइ गरिरहेको छ।

सामान्य हिँडडुलमा समेत सेनाले कडाइ गरिरहेको छ भने यातायातका साधन चलेका छैनन् । दमकल, प्रेससहितका अत्यावश्यक सवारी साधन निर्बाध चलिरहेका छन् । बजार पनि बन्द छ ।
सडकमा आन्दोलनकारीले गरेको तोडफोडका अवशेष देखिन्छन् भने कतिपय स्थानमा अझैपनि आन्दोलनकारीले गरेको आगजनी नियन्त्रणमा आइसकेको छैन । नयाँ बानेश्वरस्थित संसद् भवनमा अझै आगलागी भइरहेको छ, जहाँ आन्दोलनकारीले मंगलबार आगजनी गरेका थिए ।
यस्तै सिंहदरबारका कतिपय भवनमा लगाइएको आगो पूर्ण नियन्त्रणमा आएको देखिएको छैन भने थापाथलीस्थित नेपाल राष्ट्र बैंकको भवनमा पनि बुधबार बिहान १० बजेसम्म आगलागी नियन्त्रणमा आएको छैन । यस्तै कान्तिपुर पब्लिकेसन भएको आगलागी समेत नियन्त्रणमा आएको छैन ।
सेनाले चोकचोकमा चेकजाँचमा कडाइ गरेकाले स्थिति पूर्ण नियन्त्रणमा रहेको छ । मुख्य सडक र भित्री सडकमा समेत आन्दोलनकारीको कुनै जमघट छैन । सेनाले घरभित्रै रहन अपिल गरेको छ ।

संघीय संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति कार्यालय, नागरिक उड्डयन प्राधिकरण, काठमाडौँ जिल्ला अदालतसहितका महत्त्वपूर्ण सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् भने त्यहाँ रहेका महत्त्वपूर्ण कार्यालयहरू जलेर नष्ट भएका छन् । यस्तै प्रमुख राजनीतिक दलका कार्यालय पनि जलेका छन् ।
बुधबार बिहान राजधानीका विभिन्न स्थानमा पुग्दा सडकमा आन्दोलनकारीले जलाएका गाडीसहितका सामाग्रीको भग्नावशेष यत्रतत्र देखिन्थ्यो भने कतिपय स्थानमा नेपाली सेनाको अग्रसरमा सरसफाइ पनि भइरहेको देखिन्थ्यो ।
सरकारले भदौ २० गते नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि युवाहरू आक्रोशित भएका थिए । फेसबुक, एक्स, इन्स्टाग्राम, ह्वाट्सएपसहितका सामाजिक सञ्जाल बन्द गरे पनि आक्रोशित जेनजी युवाहरुले सामाजिक सञ्जालबाटै सोमबारका लागि शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेका थिए । उक्त आह्वान गर्नेक्रममा जेनजीले भ्रष्टाचार र बेथिति अन्त्यको एजेन्डा समेत अघि सारेका थिए ।
कुनै नेतृत्वबिनै सामाजिक सञ्जालबाट आह्वान भएको भरमा गरिएको आन्दोलन काठमाडौँसहित देशैभर भयो । तर, विशेषगरी राजधानीमा भएको प्रदर्शनमा १७ र इटहरीमा थप २ जना जेनजी प्रदर्शनकारी मारिएपछि स्थिति बिग्रिएको हो । जेनजी आन्दोलनकारी निषेधित क्षेत्र तोड्दै संसद् भवन पसेपछि प्रहरीले गोली चलाउँदा १७ जेनजी मारिएका थिए । यस्तै इटहरीमा पनि प्रहरीको गोली लागेरै मानवीय क्षति भएको थियो ।
यससँगै राज्यबाट जेनजीको हत्या भएको भन्दै चौतर्फी आक्रोशसँगै मंगलबार देशभर प्रदर्शन भयो । सो प्रदर्शन नियन्त्रणबाहिर पुग्दा राजधानीमा मात्रै नभएर देशभर महत्त्वपूर्ण प्रकाशकीय भवनहरूमा तोडफोड र आगजनी भए भने निजी क्षेत्रका संरचनामा पनि उत्तिकै तोडफोड भएका छन् । त्यतिको विवरणको अहिले कुनै लेखाजोखा नभए पनि अकल्पनीय क्षति भएको छ ।
_PDp0X8id5k-1757481317.jpg)
क्षतिमात्रै भएन, जेनजी आन्दोलनको नाममा आपराधिक गतिविधि समेत हुनपुग्दा लुटपाटकै घटना भए । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकसहित कतिपय ठाउँमा लुटपाट हुनुका साथै आम नागरिकमा त्रासको माहौल छाएकै बेला सेनाले सम्पूर्ण सुरक्षाको जिम्मा लिएको हो ।
नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिअनुसार विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ।
सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ। सेनाले बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ त्यसपछि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने सेनाले बताएको छ।
यस्तै सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराध मानिने र त्यस्ता क्रियाकलाप गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। यस्तै सेनाले सबै आम नागरिकलाई अफवाहको पछाडि नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन आ-आफ्नो दायित्व निभाउन पनि अपिल गरेको छ।
यसअघि मंगलबार नै जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन् भने उनले बालुवाटार छाडिसकेका छन् ।
_hHJ4KS08hK-1757481316.jpg)
यस्तै कतिपय राजनीतिक दलका नेता समेत आन्दोलनकारीको निशानामा परेपछि उनीहरू सुरक्षित स्थानमा सरेका छन् । यसो त केही राजनीतिक दलका नेताको निवासमा समेत तोडफोड र आगजनी भएका छन् ।
अबको राजनीतिक निकासका लागि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नै आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरिसकेका छन् । यस्तै सेनाले पनि सोहीअनुसारको आह्वानमात्रै गरेको छैन उसले सहजीकरणको पहलकदमी पनि लिएको छ । जसअनुसार बुधबार नै वार्ता हुने अपेक्षा गरिएको छ । यद्यपि अबको सरकार कस्तो, कसको र कसरी बन्छ भन्ने निश्चित त भइसकेको छैन ।