काठमाडौं। जेनजी आन्दोलनका क्रममा भारतीय सीमामा रहेका भन्सार कार्यालयमा समेत तोडफोड हुँदा आपूर्ति शृंखला नै बन्द भएको छ। सोमबार र मंगलबार भएको जेनजी आन्दोलनका क्रममा अधिकांश भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि पूर्ण रुपमा आयात–निर्यात ठप्प भएको छ।
नेपालमा सबैभन्दा बढी आयात भारतबाटै हुने गरेको छ। तेस्रो मुलुकबाट हुने आयात पनि भारतीय सीमाबाटै हुने भएकोले ती नाकामा रहेका भन्सार कार्यालयमा भएको क्षतिका कारण आपूर्ति शृंखला नै ध्वस्त भएको थियो। तीन दिनदेखि आयात ठप्प हुँदा काठमाडौंसहित देशभरि नै खाद्यान्नसहित सबै सामान अभाव हुन थालेपछि भन्सार विभागले आपूर्ति शृंखलालाई सुधार गर्न तत्परता देखाउन थालेको छ।
भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले आपूर्ति शृंखलामा समस्या नहोस् भन्ने उद्देश्यका साथ बिहीबारबाट अस्थायी रुपमा भन्सार कार्यालय सञ्चालन गरिएको बताए।
अधिकांश स्थानका भन्सार कार्यालय तोडफोड भएको बताउँदै वीरगञ्ज भन्सार नजिकैको सुक्खा बन्दरगाह सुरक्षित रहेकोले काम सुरु गरिएको उनले जानकारी दिए।
अहिले प्रारम्भिक जानकारीअनुसार मेची, भद्रपुर, भैरहवा, धनगढी, विराटनगरलगायतका भन्सार कार्यालयमा तोडफोड भएर पूर्ण रुपमा क्षति भएको छ। कतिपय कार्यालयमा कर्मचारी जान सक्ने स्थिति नरहेकाले पनि वीरगञ्ज भन्सारलाई सुचारु गरी आएका सामानलाई चेकजाँचगर्दै पठाउने गरिएको महानिर्देशक भण्डारीको भनाइ छ।
कर्मचारीलाई पूर्ण रुपमा कार्यालयमा गएर काम गर्न सक्ने स्थिति नरहेकाले सुरुमा ध्वस्त संरचनालाई हटाएर अस्थायी कार्यालय सञ्चालन गर्ने तयारीमा विभाग लागिरहेको उनले बताए।
भन्सार कार्यालय सञ्चालनमा नआउदा भारतबाट सामान आयातमै समस्या भएको व्यवसायीको भनाइ छ। भन्सार कार्यालयमा जाँचपास र बैंकिङ सिस्टम नै नहुँदा नेपाल आउन लागेको एलपी ग्याससमेत ल्याउन नसकिएको एलपी ग्यास उद्योग संघ अध्यक्ष शिव घिमिरेले बताए।
‘भएका ग्यास सकिँदै गएको र नयाँ आयात गर्न नसक्दा विस्तारै बजारमा अभाव हुँदै जाने भय देखिएको छ’, अध्यक्ष घिमिरेले भने, ‘सरकारले तत्कालै आपूर्तिमा सहज बनाउन अस्थायी रुपमा भए पनि भन्सार कार्यालय तत्कालै सञ्चालनमा ल्याउनुपर्छ।’
ग्यास मात्र हैन, भारतसहित तेस्रो मुलुकबाट आउने सबै सामान आयातमा अहिले समस्या भएको छ। सोही कारण अहिले बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव हुँदै मूल्य बढ्न थालेकामा उपभोक्ता चिन्तित हुन थालेका छन्।
अहिले चीनबाट आउने दुवै नाका तातोपानी र रसुवागढी पूर्ण रुपमा बन्द भएको छ। यसरी चीनबाट आयात हुने नाका पूर्ण रुपमा बन्द हुनु र भारतबाट आउने नाका पनि भन्सार कार्यालय तोडफोड हुँदा आयातमै समस्या हुँदा बजारमा हाहाकार हुने निश्चित देखिएको उपभोक्ताकर्मी बताउँछन्।
चालू आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा मात्र भारतबाट मात्र एक महिनामा ८३ अर्ब ५३ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको आयात भएको छ। निर्यात भने १९ अर्ब ४५ करोड २० लाख ५० हजार रुपैयाँ मात्रको भएको छ।
भारतसँग नेपालको व्यापार घाटा ६४ अर्ब ८ करोड ७८ लाख ६६ हजार रुपैयाँको रहेको छ। भारतबाट खाद्यन्न, लत्ताकपडादेखि अधिकाशं सामान आयात हुँदै आएको छ।