काठमाडौं। हालैको आन्दोलनका क्रममा चौधरी समूहमाथि भएको तोडफोड, आगजनी र लुटपाटपछि प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्ना कर्मचारी तथा परिवारलाई भावुक सन्देश दिएका छन्।
उनले भनेका छन्, ‘आन्दोलन युवाहरूले देखाएको सकारात्मक उद्देश्यका साथ सुरु भए पनि असामाजिक तत्त्व र बाह्य शक्तिले यसलाई हिंसा, लुटपाट र विनासमा बदलिदिए। यसक्रममा अध्यक्षलाई व्यक्तिगत रूपमा लक्षित गरिनु, पारिवारिक घरमा आक्रमण र आगजनी, कारखाना तथा कार्यालयमा क्षति पुर्याइनु, सोरुम लुटिनुजस्ता घटनाले दशकौंको त्याग र मिहिनेतलाई केही घन्टामै खरानीमा परिणत गरिदियो।’
तर, उनले कठिन घडीमा सीजी परिवारभित्रको एकता र साहस झन् प्रस्ट भएको बताए। ‘आगोको बीचमा पनि हाम्रो टोलीले हार मानिन, सम्पत्ति जोगाउन, ग्राहकको सेवा सुनिश्चित गर्न जीवन जोखिममा राखेर काम गर्याे। तपाईंहरूकै कारण आशा अझै बाँकी छ’, चौधरीले भने।
उनले कर्मचारीको समर्पणप्रति आभार व्यक्त गर्दै भने, ‘दुष्कृत्यहरूले हाम्रो भवन जलाए पनि हाम्रो सपना जलाउन सक्दैनन्। उनीहरूले हाम्रो सोरुम लुटे पनि मूल्य लुट्न सक्दैनन्। उनीहरूले हामीलाई कमजोर बनाउन खोजे पनि हाम्रो परिवारको एकता भंग गर्न सक्दैनन्।’
चौधरीले चौधरी समूह नेपालको सबैभन्दा ठूलो करदातामध्ये एक प्रमुख रोजगारदाता र राष्ट्र निर्माणमा अग्रणी भएको स्मरण गराउँदै, भूकम्पदेखि महामारीसम्म हरेक संकटमा अग्रपंक्तिमा उभिएको बताएका छन्। उनले थपे, ‘हाम्रो जिम्मेवारी अझै सकिएको छैन। हामी पुनः उठ्नेछौं, नयाँ शक्ति, नयाँ विचार र अझ गहिरो प्रतिबद्धतासहित।’
उनका अनुसार इतिहासले सीजीलाई जलाएका ज्वालालाई होइन, त्यस ज्वालामधिबाट अझ शक्तिशाली भएर निस्किएको कथालाई सम्झनेछ। ‘हामी आहत छौं, हामी हल्लिएका छौं तर, हामी भाँचिएका छैनौं,’ चौधरीले सन्देशमा स्पष्ट पारे।