काठमाडौं। जेनजी आन्दोलनका कारण मुलुकले भौतिक रुपमा उल्लेखनीय क्षति बेहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’को अवसर रहेको अर्थशास्त्रीले बताएका छन्।
आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरूले जेनजीको प्रदर्शन बेथिति, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यसलाई कोर्स करेक्सनको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन्।
पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारविरुद्ध मुलुकभरबाट मानिस एकसाथ जाग्नुलाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिए। ‘नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारविरुद्ध मानिस एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, संविधान संशोधनलगायतका विषय पछि जोडिएका हुन्’, उनले भने, ‘अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनःनिर्माण, नयाँ लगानी अवसर सृजना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ।’
उनले अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ति नभई आन्तरिक रुपमा मानव सृजित भएकाले दातृ निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको बताए । ‘यस प्रकारको अवस्था २०३६ र माओवादी द्वन्द्वको समय पनि देखिएको थियो। तत्कालीन समय भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। सडक, पुलमा ठूलो क्षति हुनुका साथै सञ्चार सेवा अवरुद्ध भएको अवस्था थियो’, उनले भने, ‘तर अहिले त्यो अवस्था छैन। त्यसैले हामीलाई फेरि उठ्न ठूलो समस्या हुन्छ भन्ने लाग्दैन।’
पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक उल्लेख गर्दै प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु सकारात्मक पक्ष भएको बताए । प्रदर्शनले भ्रष्टाचार र कुशासन हटाउँदै शासकलाई सच्चिन पनि सन्देश दिएको उनको भनाइ छ।
‘जेनजीले जुन विषय उठाएर प्रदर्शन गरे र त्यसले जुन रुप लियो। यसबाट हामीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन र आसेपासे पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ’, खनालले भने, ‘आगामी दिनमा मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार हटाउन सहयोग पुग्छ भन्नेमा मलाई विश्वास छ।’
अर्थशास्त्री डा. समीर खतिवडाले जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको टिप्पणी गरे। ‘जेनजी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम’लाई भत्काउने प्रयास गरेको छ। नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ’, उनले भने, ‘यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट नेपाललाई निकाल्न प्राप्त भएको अवसर पनि हो।’
खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र रहेको बताए। उनले भने, ‘अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेशबिन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय विद्यमान छ। सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ।’
उनले अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिए।
जेनजीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने उनको भनाइ छ। ‘हामीले ल्याइरहेको विदेशी लगानी कुल गार्हस्थ उत्पादनको ०.३ प्रतिशत मात्रै हो। त्यो आफंैमा सानो आकार भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन। बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ’, उनले भने।