काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका (कामु) कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले देशमा विद्युत उत्पादनको समस्या नरहेको स्पष्ट पार्दै अब प्राधिकरणको सम्पूर्ण ध्यान उपभोक्तालाई ‘गुणस्तरीय र भरपर्दो (रिलायबल) विद्युत आपूर्ति’ गराउनेतर्फ केन्द्रित भएको बताएका छन्।
विगत डेढ महिनादेखि प्राधिकरणको नेतृत्व सम्हाल्दै आउनुभएका कामु कार्यकारी निर्देशक श्रेष्ठले सोमबार सञ्चारकर्मीसँगको विशेष भेटघाटमा प्राधिकरणका वर्तमान प्राविधिक चुनौती, समाधानका लागि चालिएका कदम, ठूला आयोजनाहरूको प्रगति र सेवा प्रवाहमा प्रविधिको प्रयोगबारे विस्तृत कार्यदिशा सार्वजनिक गरेका थिए।
केही दिनअघि पश्चिम र तराईका जिल्लामा देखिएको विद्युत अवरोधबारे स्पष्ट पार्दै कार्यकारी निर्देशक श्रेष्ठले यो समस्या स्थानीय स्तरको भन्दा पनि कालीगण्डकी सबस्टेसनमा ’कोपलिङ’ गर्ने प्राविधिक कार्यका कारण सिर्जना भएको बताए। यसले गर्दा बुटवल पश्चिम र तराईका क्षेत्रमा केही दिन साँझको समयमा प्रणालीमा समस्या आएको थियो।
हालै परेको पानीले गर्दा तराई क्षेत्रमा सिँचाईको लोड ह्वात्तै घटेको छ। साथै, प्रणालीलाई अलिकति ’रिजर्भ’ (२०० मेगावाट क्षमताको प्रसारण लाइनमा १८०÷१९० मेगावाट मात्र लोड प्रवाह गर्ने गरी) राखेर चलाइएका कारण पछिल्लो ७÷८ दिनदेखि विद्युत प्रणाली निकै स्थिर बनेको छ।
कामु कार्यकारी निर्देशक श्रेष्ठले अब गाउँ–गाउँमा बिजुली पु¥याउनु मात्र ठूलो कुरा नरहेको भन्दै गुणस्तरीय र न्यून ट्रिपिङसहितको बिजुली दिनु नै प्राधिकरणको पहिलो सर्त भएको बताए। यसका लागि केही ठूला र रणनीतिक आयोजना अन्तिम चरणमा पुगेका छन्।
ढल्केबर–हेटौँडा ४०० केभी लाइनः विगत १२ वर्षदेखि वन क्षेत्रको समस्या र टावर जगका कारण अड्किएको यो अत्यन्तै महत्त्वपूर्ण आयोजनाको विवाद अन्ततः सल्टिएको छ। आगामी १ देखि डेढ महिनाभित्र यो लाइन चार्ज हुने तयारीमा छ। यो चार्ज हुनासाथ नेपालको पूर्व–पश्चिम विद्युत आदानप्रदानमा ’कायापलट’ हुनेछ र प्रणालीको विश्वसनीयता सुदृढ हुनेछ।
तराईका सबस्टेसन
महोत्तरी, सुनसरी, सप्तरी र सिराहा क्षेत्रको लो–भोल्टेज र ट्रिपिङ समस्या सधैँका लागि अन्त्य गर्न बालगंगा, लोअरपट्टी र सलिमपुर जस्ता सबस्टेशनहरू आगामी डेढ महिनाभित्र चार्ज हुँदै छन्।
विराटनगर–रंगेली क्षेत्र
आगामी साउनको मध्यसम्ममा केरोन सबस्टेशन चार्ज भएपछि यस क्षेत्रको लामो समयदेखिको भोल्टेज समस्या पूर्ण रूपमा समाधान हुनेछ। नेपालको विद्युत व्यापार छिमेकी मुलुकसँग मजबुत बन्दै गएको जानकारी दिँदै कामु कार्यकारी निर्देशक श्रेष्ठले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको बताए।
विद्युत निर्यात
हाल नेपालले दैनिक करिब १००० देखि १२०० मेगावाट विद्युत छिमेकी मुलुक भारततर्फ निर्यात गरिरहेको छ। जसमा ५०० देखि ७०० मेगावाट डे–अहेड मार्केटमा र २०० मेगावाट बिहारतर्फ प्रवाह भइरहेको छ।
बुटवल–गोरखपुर लाइन
दोस्रो अन्तरदेशीय प्रसारण लाइन आउँदो डिसेम्बर (२०२६) सम्ममा तयार हुँदैछ। यसले थप २५०० मेगावाट विद्युत आयात–निर्यातको बलियो बाटो खोल्नेछ।
अरुणको सितामढी लाइन र बंगलादेश निर्यात
ढल्केबर–सितामढी लाइनको नेपालतर्फ बाँकी रहेको डेढ किलोमिटर क्षेत्रको मुआब्जा र विवाद सल्टाएर थप निर्यातको तयारी भइरहेको छ। यस्तै, बंगलादेशमा थप २० मेगावाट बिजुली निर्यातका लागि भारतीय पक्षसँग प्राविधिक र प्रसारण लाइनका वैकल्पिक मार्गबारे संवाद जारी छ।
नेपाल–चीन (केरुङ–जिलङ) प्रसारण लाइन
चिलिमे हबदेखि सीमासम्मको काम र चीनतर्फको ८० किलोमिटर खण्डका लागि नेपाल र चीनको ’संयुक्त कार्य समूह’ ले प्रसारण मोडालिटी तयार पारिसकेको छ। यसलाई अब सरकारी स्तरबाट द्रुत गतिमा अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
उपभोक्ताको सबैभन्दा ठूलो गुनासो ‘बत्ती गएपछि कतिखेर आउँछ भन्ने सूचना नपाउने’ र ‘नो–लाइटमा फोन नउठ्ने’ समस्यालाई सदाका लागि अन्त्य गर्न प्राधिकरणले अत्याधुनिक प्रविधिको प्रयोग गर्न लागेको कामु कार्यकारी निर्देशक श्रेष्ठले बताए।
एआई र ग्राहक व्यवस्थापनको प्रयोग
ग्राहक व्यवस्थापन प्रणालीलाई एआईसँग जोडिएको छ। यसबाट नयाँ ग्राहकले मिटर कनेक्सन र आवश्यक कागजातबारे सोध्ने प्रश्नको स्वचालित र तत्काल जवाफ दिने प्रणालीको परीक्षण भइरहेको छ।
भाइबर र प्रणालीको अटोमेसन
प्राधिकरणका वितरण केन्द्र र नो–लाइटका कर्मचारीबीच हुने आन्तरिक भाइबर सञ्चार (जसमा कुन फिडर र कुन पोलमा के समस्या आयो भन्ने प्रत्यक्ष विवरण हुन्छ) लाई सीधै मुख्य प्रणालीमा अटो–अपलोड गर्ने प्रविधिको आउटसोर्सिङ गरिँदैछ। यो जडान भएपछि ग्राहकले फोन गर्नासाथ एआई वा अपरेटरले कुन ठाउँमा के खराबी भएको हो र बत्ती ठ्याक्कै कति समयमा आउँछ भन्ने यकिन जानकारी दिन सक्नेछन्।
पुराना ग्राहकको फोन नम्बर प्रणालीमा दर्ता नहुँदा बत्ती काटिने पूर्वसूचना एसएमएसमार्फत दिन नसकिएको स्वीकार्दै श्रेष्ठले भने, ‘अब ग्राहक कार्यालय धाइरहनु पर्दैन। हामी छिट्टै एउटा अनलाइन लिंक÷पोर्टल सार्वजनिक गर्दैछौँ, जहाँ ग्राहकहरूले घरमै बसेर आफ्नो मोबाइल नम्बर र ग्राहक विवरणसजिलै अपडेट गर्न सक्नेछन्। यसले गर्दा प्रणालीमा हुने आकस्मिक वा मर्मत सम्भारको पूर्वजानकारी सीधै उपभोक्ताको मोबाइलमा पुग्नेछ।’