काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको आन्दोलनका क्रममा व्यापारीको सम्पत्ति जलाउने र क्षति पुर्याउने घटनाले ठूलो असर परेको बताएकी छन्।
आइतबार सिंहदरबारमा कार्यभार सम्हाल्दै उनले व्यापारीलाई एक्लै छोड्न नसकिने बताइन्। उनले भनिन्, ‘व्यक्तिको सम्पत्ति, व्यापारी, उद्योगीको सम्पत्ति पनि डढाउने, नष्ट गर्ने काम भएको छ। तिनलाई पनि हामीले जसरी उभिन्छौँ, उभ्याउनु पर्छ।’
प्रधानमन्त्री कार्कीले राज्यले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा विचार भइरहेको बताएकी थिइन्। ‘व्यक्तिगत सम्पतिको क्षति हुँदा कतिपय व्यापारीहरू उठ्न नसक्ने अवस्थामा पुगेका छन्,’ उनले भनिन्, ‘त्यसमा राज्य विचार गर्छ। हामी विचार गर्छौं कि उनीहरुलाई कसरी फेरि उभ्याउने।’
सस्तो बैंक ऋण, अनुकूल नीति वा अन्य उपायबाट सहयोग दिने विकल्पको अध्ययन भइरहेको उनले उल्लेख गरिन्।
साना व्यापारी र सटर खोलेकालाई पनि आगजनीबाट क्षति पुगेको कार्कीले बताइन्। ‘साना व्यापारीहरू पनि लुटिएका छन्। मैले समाचारमा सुनेँ, जो व्यापारीको क्षति भएको छ, हामी फेरि उनीहरुलाई उठाउने प्रयास गर्छौं। हामी हार्दैनौँ,’ उनले थपिन्।
प्रधानमन्त्रीले आन्तरिक बल देखाएका व्यापारीलाई धन्यवाद दिँदै भनिन्, ‘उहाँहरूले देखाएको साहस र धैर्यको लागि धन्यवाद दिन चाहन्छु।’