देवदह (रुपन्देही)। रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले पार्किङ स्थलबाट सेवा सुरु गरेको छ। भदौ २४ को तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो।
प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयबाट प्रवाह गरिने सेवा पार्किङमा टेन्ट राखेर आइतबारदेखि थालनी गरिएको जानकारी दिए। उनले भने, ‘हामीले अत्यावश्यक सेवा सुरु गरेका छौं। धेरै सेवा अनलाइन माध्यमबाट प्रदान गरिरहेका छौं। पार्किङमा ल्यापटप र प्रिन्टर राखेर हाम्रा करदातालाई दिनुपर्ने सेवा दिन सुरु गरेका छौं।’
इन्टरनेट र बिजुली व्यवस्थापन गरेर न्यूनतम साधन–स्रोत र उपलब्ध कर्मचारीबाट सेवा प्रवाह भइरहेको उनले बताए। सबै सेवा सञ्चालन गर्न सम्भव नभएकाले केही अत्यावश्यक सेवा मात्र प्रदान गरिएको उनको भनाइ छ।
उनका अनुसार आगजनी र तोडफोडबाट कार्यालयको मुख्य भवनमा क्षति पुगेको छ। सात वटा कोठा पूर्ण रूपमा जलेर नष्ट भएको उनले जानकारी दिए। त्यस्तै कोठाभित्र रहेका इलेक्ट्रोनिक सामान, कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, र्याक, सोफा, दराजलगायत थुप्रै सामान जलेको प्रमुख कर अधिकृत पोख्रेलले बताए।
‘केही करदाताका फाइल पनि त्यसमा परेका छन्’, उनले भने। कार्यालयमा रहेका केही सवारीसाधन र गार्डरुम पनि जलेको उनको भनाइ छ।
सेवाग्राही सरोज साहले भवन क्षतिग्रस्त हुँदा पनि आन्तरिक राजस्व कार्यालयले सेवा प्रदान गरिरहेको भन्दै खुसी व्यक्त गरे। उनले कार्यालयले प्रदान गरिरहेको सेवाबाट सेवाग्राही सन्तुष्ट नै रहेको बताए।
रुपन्देहीमा भदौ २३ देखि जारी निषेधाज्ञा र कर्फ्यु पनि हटाइएको छ। भदौ २८ देखि निषेधाज्ञा र कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले जानकारी दिए।
जिल्ला प्रशासनले पारस्परिक सद्भाव कायम गर्न, सार्वजनिक सेवा प्रवाह गर्न, शिक्षण संस्था सञ्चालन गर्न, आवागमन सञ्चालन गर्न, पूर्ववत क्रियाकलाप नियमित गर्न र बजार व्यवस्थालाई चलायमान बनाउन सरोकारवाला सबै पक्षसँग आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेको छ।–रासस