काठमाडौं। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल मंगलबार जेनजीको आन्दोलनबाट ध्वस्त भएको निजी क्षेत्रको सम्पति निरीक्षणमा निस्किए। भ्रष्टाचार अन्त्यसहित विभिन्न माग राख्दै भएको जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगलागीबाट के कति क्षति भयो? भन्ने स्थलगत बुझ्न अर्थमन्त्री खनाल आफ्नो टोलीसहित काठमाडौंका विभिन्न ठाउँमा पुगेका हुन्।
सोमबार अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्ने क्रममा मन्त्री खनालले निजी क्षेत्रलाई चिड्याउन नहुने बताउँदै आन्दोलनमा ध्वस्त भएका संरचना र व्यवसायलाई उकास्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। निजी क्षेत्रसँग लचक देखिएका उनले मंगलबारको स्थलगत अध्ययनले पनि सरकारले निजी क्षेत्रलाई दिने राहत र पुर्नउत्थानको प्याकेज राम्रो आउने अपेक्षा व्यवसायीहरुले लिइरहेका छन्।
अर्थमन्त्री खनालले कोटेश्वरको भाटभटेनी सुपरमार्केट, थापाथलीको विभिन्न गाडीका शोरुमसहित विभिन्न संरचनाको स्थलतग अध्ययन गरेका हुन्। स्थलगत अध्ययनका क्रममा उनले कुनै पनि व्यवसायीहरुलाई कुनै प्रतिक्रिया दिएका छैनन्।
पछिल्लो समय नेपालमा स्वदेशी तथा विदेशी लगानी कम भइरहेको अवस्थामा जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले लगानीको वातावरण बिग्रिएको भनेर चर्चा बढ्दो छ।
कोटेश्वरको भाटभटेनी निरीक्षणका लागि अर्थमन्त्री खनाल पुगे पनि कुनै प्रतिक्रिया नदिएको भाटभटेनीका सिओओ पानु पौडेलले जानकारी दिए। ‘हामीले भाटभटेनीको भग्नावेश देखायौँ, अर्थमन्त्री ज्यूले निरीक्षण गर्नु भयो,’ उनले भने, ‘राहत र पुर्नउत्थानका लागि के कस्तो सुविधा दिने वा नदिने भन्नेमा कुनै प्रतिक्रिया दिनु भएन।’
पछिल्लो समय नेपालमा स्वदेशी तथा विदेशी लगानी कम भइरहेको अवस्थामा जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले लगानीको वातावरण बिग्रिएको भनेर चर्चा बढ्दो छ। यस क्रममा अर्थमन्त्री खनाललाई विश्वासको वातावरण बनाउनुपर्ने ठूलो चुनौती रहेको व्यवसायीहरुको भनाइ छ।
लगानीका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वभरका लगानीकर्तालाई मात्र हैन स्वदेशी लगानीकर्तालाई समेत दिनका लागि हालका अर्थमन्त्री खनालले विशेष प्याकेजसहित दीर्घकालीन फाइदा हुने खालका नीतिगत निर्णय गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको निरीक्षणमा पुगेको अर्थ मन्त्रालयका एक सहसचिवले जानकारी दिए।
‘मन्त्री ज्यूले स्थलगत निरीक्षण गरेपछि व्यवसायीको भावनाअनुसारको नीति बनाउने तयारी थाल्नु भएको छ,’ ती सहसचिवले भने, ‘सोहीअनुसार अहिले स्थलगत निरीक्षणमा निस्कनु भएको हो। यसले व्यवसायीलाई पनि राज्य भएको महसुस दिलाउँछ।’
दुई दिनको आन्दोलनका क्रममा भड्किएको आन्दोलनकारीले सरकारी सम्पत्तिहरूसहित चौधरी ग्रुपको सिजीपार्क, थापाथलीमा रहेको अटो सोरुम, भाटभटेनीको १२ वटा सुपरमार्केट, हिल्टन होटल, हायात रिजेन्सी होटल, वर्णवास होटल, एनसेलको कर्पोरेट अफिससहित देशभर रहेका निजी क्षेत्रको औद्योगिक प्रतिष्ठानमा आक्रमण गर्नुका साथ आगो लगाएका थिए।