काठमाडौं। सरकारले पुँजी बजारमा विकसित विसंगति तथा समस्या अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझावसहितको ठोस कार्यान्वयन कार्ययोजना पेस गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्य सम्मिलित कार्यदल गठन गरेका हुन्।
कार्यदललाई पुँजीबजार सुधारका उपायसहित आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयनका कार्ययोजना पाँच कार्यदिनभि पेस गर्न निर्देशन दिइएको छ।
सदस्यहरुमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन्।
यो कार्यदललाई पुँजी बजारमा लागू गर्न लागिएको चालू पुँजी प्रणालीमा सुधार र विद्यमान समस्या समाधानका लागि सुझावसहितको ठोस कार्ययोजना पेस गर्ने जिम्मेवारी दिइएको छ।
यो कदमलाई पुँजी बजारमा लामो समयदेखि चर्चामा रहेको नीतिगत अस्पष्टता र लगानीकर्ताको घट्दो मनोबललाई सम्बोधन गर्ने दिशामा सरकारको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।
जेनजी आन्दोलनका कारण भदौ २५ देखि बन्द सेयर बजार अन्तिम कारोबार दिन बिहीबार खुलेलगत्तै लगातार तीनपटक नकारात्मक सर्किट लाग्नासाथ ७ मिनेटमै बन्द भएको थियो।
नयाँ सरकार गठन हुनासाथ खुलेको सेयर बजारले लगानीकर्ताको मनोबल उकास्ने र अर्थमन्त्री रामेश्वर खनालको विज्ञताले अर्थतन्त्र एवं पुँजीबजार सुधारिने अपेक्षा गरिए पनि त्यसो देखिएन।
यद्यपि, यसमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले पुँजीबजार अस्थिर रहन गएको ठानिएको छ।