काठमाडाैं। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका अर्जुनधारा, मेचीनगर, कनकाईलगायत जिल्ला अधिकांश पालिकाले अत्यावश्यक सेवा सुरुआत गरेका छन्। गत भदौ २४ गते जिल्लाको १५ पालिकामध्ये हल्दिबारी गाउँपालिका बाहेक अरु सबै पालिकामा आगजनी र तोडफोड भएका थिए। त्यसयता पालिकाहरु बन्द थिए।
अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले नगरका ११ वटै वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यकीय सेवा सुरु भइसकेको बताए।
“नगरपालिकाको सेवा केही दिनअघि नै सुरु गरिएको थियो,” उनले भने,“सबै वडा कार्यालयको सेवा पनि आइतबारदेखि थालेका छौँ। जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका सेवाहरु अब सुचारु भएका छन्। जुन तत्काल नहुँदा पनि हुन्छ, त्यस्तो सेवा चाहीँ अहिले दिन सक्दैनौँ।”
नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला सिफारिस, राजस्व संकलन लगायतका सेवा सुरु भएको हो। नगरपालिकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासा गरेको छ। ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतको सामाजिक सुरक्षा भत्ता बैंक खातामा पठाइसकिएको उनले बताए।
नगरपालिकामा ११ वडा छन्। जेनजी आन्दोलनका क्रममा नगरपालिका र सबै वडा कार्यालयमा आगजनी र तोडफोड भएको थियो। भग्नावशेषहरुको सरसफाइ र मर्मत गरेर नगरपालिका कार्यालयको सभाहलमा एउटै थलोबाट सबै वडाको एकीकृत सेवा सञ्चालन गरिएको उनले बताए।