काठमाडौं। सिंहदरबारको ढोका पार गर्नेहरू प्रायः गम्भीर मुद्रामा देखिन्छन, कहिले शक्ति प्रदर्शनका लागि, कहिले औपचारिकताका लागि। तर, सोमबार दिउँसो त्यहाँ एउटा फरक दृश्य देखियो।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आफ्ना बुबा सिद्धिप्रसाद खरेलको हात समाउँदै मन्त्रालयतर्फ प्रवेश गरेका थिए। पद तथा गोपनियताको शपथ लिएलगत्तै मन्त्रालय आइपुगेका उनले पहिलो कामका रूपमा बुबालाई सबैसँग परिचय गराए।
‘उहाँ मेरो बुबा हो। उहाँले मलाई आजको दिनसम्म ल्याउनुभयो,’ उनले मुस्कुराउँदै भने। बुबा सिद्धिप्रसाद पनि भावुक देखिन्थे। पत्रकारहरूले घेरिएपछि उनले छोटकरीमा उत्तर दिए– ‘म छोरालाई सधै राम्रो काम गर्न सुझाव दिने गर्छु। आज पनि त्यही भनेको हुँ।’
परम्पराभन्दा फरक सुरुवात
मन्त्रीहरूले पदभार ग्रहण गर्दा प्रायः औपचारिकता मात्र पूरा गर्ने चलन छ। तर, खरेलले सुरुवातमा फरकपन देखाए। कर्मचारीले हस्ताक्षरका लागि पेस गरेको निर्णयपत्र उनले पढेपछि तुरुन्तै रोकिदिए।
‘पहिलो निर्णय म आफैँ गर्छु,’ उनले भने, ‘यो फाइलमा अहिले हस्ताक्षर हुँदैन। नयाँ प्रस्ताव तयार पार्नुस्।’ उनीको यो भनाइले कोठामा उपस्थित कर्मचारी आश्चर्यचकित बने। कतिपयले यसलाई ‘नयाँ शैलीको सुरुवात’ भनेर स्वागत गरे।
भावनासँग जोडिएको क्षण
मन्त्रालयमा उपस्थितमध्ये धेरैको ध्यान मन्त्रीभन्दा बढी उनको साथमा आएका वृद्ध बुबातिर थियो। छोराको सफलतामा बाबुको अनुहारमा झल्किएको गर्व र सन्तुष्टि त्यही दिनको विशेष आकर्षण बनेको थियो। ‘मन्त्री हुनु ठूलो कुरा होइन,’ खरेलका बुबाले भने, ‘इमानदार हुनु ठूलो कुरा हो।’
नयाँ अपेक्षाको सुरुवात
सञ्चार प्रविधि क्षेत्र चुनौतीले भरिएको छ। सूचना अधिकारदेखि डिजिटल सुरक्षा, मिडियाको स्वतन्त्रता र नियन्त्रणसम्मका विषयमा मन्त्री खरेललाई तत्कालै चासो देखाउनुपर्ने छ।
तर, सोमबारको दृश्यले भने सार्वजनिक सन्देश प्रष्ट पठायो– नयाँ मन्त्रीले आफ्नो बाटो परिवारको आर्शीवाद र इमानदार सुरुवातबाटै सुरु गरेका छन्।
विं.सं. २०३९ सालमा दोलखाको सुनखानी गाउँमा जन्मिएका जगदीश इमेज च्यानलका समाचार प्रमुख हुन्। उनले इमेज एफएफबाट पत्रकारिता यात्रा सुरु गरेका थिए।