पर्सा। वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभियसन टर्बाइन फ्युल (एटिएफ) र मट्टीतेल आयात गरिएको हो।
गत आवको दुई महिनाको तुलनामा चालू आवको दुई महिनामा उक्त नाका हुँदै १ अर्ब ७६ करोड बढीको पेट्रोलियम आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। सो अवधिमा आयात बढेसँगै १ अर्ब २९ करोड बढी राजस्वसमेत संकलन भएको छ।
‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो’, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने। गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ९ अर्ब ८९ करोड राजस्व संकलन गरेको थियो।
त्यस्तै, चालू आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड संकलन गरेको छ। चालू आवको दुई महिनामा ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा ५ अर्ब २८ करोड राजस्व संकलन भएको छ।
गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा चार अर्ब ५१ करोड राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए।
चालू आवको दुई महिनामा ६ अर्ब ८२ करोडको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले चार अर्ब ५४ करोड राजस्व संकलन गरेको छ। गत आवको सोही अवधिमा ६ अर्ब ४० करोडको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा तीन अर्ब ९९ करोड राजस्व संकलन भएको थियो।
त्यस्तै, चालू आवको दुई महिनामा ५ अर्ब १२ करोडको ४ करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्यास आयात हुँदा ९६ करोड राजस्व संकलन भएको छ।
गत आवको सोही अवधिमा ५ अर्ब ३६ करोडको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा १ अर्ब राजस्व संकलन भएको कार्यालयले जनाएको छ।–रासस