काठमाडौं । जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र सरकारसँग वार्ता गर्न प्रतिनिधि छनोट गरेका छन् । बुधबार बानेश्वरमा बसेको जेनजीको बैठकले प्रतिनिधि छनोट गरेका हुन् । सुदन गुरुङ, प्रवेश दाहाल, पुरुषोत्तम यादव, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउद लगायतका जेनजी बसेर प्रतिनिधि छनोट गर्ने सहमति भएको हो । ‘जेनजीको साझा मुद्दा भएकाले प्रतिनिधि छनोट गर्ने सहमति भएको हो,’ बैठकमा सहभागी एक जेनजीले भने, ‘समावेशीको आधारमा प्रतिनिधि छनोट हुन्छ ।’ कति सदस्य प्रतनिधि बनाउने भन्ने भोलि बिहाबार निर्णय हुने ती सदस्यले बताए । भोलिका लागि जेनजीको भेला बोलाइएको छ । उक्त भेलाले दलित, जेनजी शहीदको परिवार र घाइतेलाई पनि सहभागी गराउने बताइएको छ ।
बुधबार बानेश्वरमा विभिन्न समूहका मुख्य मुख्य प्रतिनिधि सहभागी थिए । आन्दोलनमा धेरै समूह थियो । एउटै एजेन्डा भएकाले राष्ट्रपति र सरकारसँग वार्ता सहमति गर्न साझा प्रतिनिधि छनोट गर्ने सहमति जेनजीले गरेको बताइएको छ । गत २३ र २४ गते भएकोे आन्दोलनमा जेनजीको फरक–फरक समूह थियो । आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग अनौपचारिक वार्ता भएपनि लिखित सहमति भएको छैन । छनोट भएका प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलसँग लिखित सहमति गर्ने तय भएको छ ।
गठन भएको प्रतिनिधिले आन्दोलनको म्यान्डेट अनुसार काम गर्न सरकारलाई झकझकाउने छ । ‘संसद् विघटन र सुशीला कार्की नेतृत्वको सरकार जेनजी जनआन्दोलनको जगमा बनेको हो । हामी औपचारिकरुपमा राष्ट्रपतिसँग सम्झौता गर्छौं,’ आजको भेलामा सहभागी अर्का एक सदस्यदले भने । बैठकले वार्ता समितिको नाम ‘जेनजी जनआन्दोलन–२०८२’ राख्ने सहमति गरेको छ ।
तर आन्दोलनमा सहभागी केही जेनजीहरूले भने यसबारे आफूहरूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । ‘म सहभागी छैन । भेला र समिति बनाउनेबारे मलाई थाहा छैन,’ जेनजी युवा रक्षा बमले भनिन् । त्यसैगरी युजन राजभण्डारीले पनि समिति बनाउने भेलाबारे अनविज्ञता देखाए । ‘म भेलामा सहभागी भएको छैन । कस्तो खालको भेला हो थाहा छैन,’ राजभण्डारीले भने ।