काठमाडौं । सरकारले गरेको लक डाउनपछि सबै रेष्टुरेन्ट बन्द गरेर घरमा बसिरहेको बेला डल्ले रेष्टुरेन्टले भने अत्यावश्यकीय सेवामा क्रियाशीलहरुलाई खाना खुवाउदै आएको छ ।
रेष्टुरेन्टले लडाउनपछि अत्यावश्यकीय सेवामा क्रियाशील २ सय १७ जनालाई दैनिक खाना खुवाउदै आएको सञ्चालक आलोक योञ्जनले जानकारी दिए ।
यो समयमा ड्युटिमा खटिएका १ सय ८० जना प्रहरी, कोरोना भाइरसको उपचार केन्द्र टेकु अस्पताल र प्रयोगशाला शुक्रराज ट्रपिकल अस्पताल टेकुमा क्रियाशील चिकित्सकहरु ६० जना, भाइरससम्बन्धी जानकारी लिने र दिन सरकारले बनाएको निशुल्क टेलिफोन सेवामा क्रियाशील
चिकित्सक १२ जना र भाइरसको आशंक्का लागेका विरामी बोक्न सरकारले तयार पारेको २५ वटा एम्बुलेन्सका चालकहरुलाई खाना खुवाउदै आएको छ ।
देशलाई परेको विपत्तीमा घरमा चुप लागेर बस्नु भन्दा आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने मनस्थिती बनाएर खाना खुवाउदै आएको सञ्चालक योञ्जनको भनाई छ । ‘हामीसँग जे छ,त्यहि खुवाइरहेका छौं’ सञ्चालक योञ्जनले भने ‘सवारी साधानको पासले गर्दा केहि समस्या भएको छ,तर पनि म्यानेज गरिरहेका छौं ।’
सुरुमा एक साताका लागि मात्र खाना खुवाउने सोचका साथ अगाडी बढेपनि विपत्ती झन बढ्दै गएकोले यस्तो बेलामा रेष्टुरेन्टको सामाजिक उत्तरदायित्वलाई पनि ख्यालमा राख्दै लक डाउन अवधि(बैशाख)३ गतेसम्मै खाना खुवाउने रेष्टुरेन्टका अर्का सञ्चालक सुवास गौचनले जानकारी दिए ।
डल्लेले सुरक्षाकर्मी र चिकित्सकहरु सहित दुखमा परेकाहरुलाई पनि खाना खुवाउदै आएको छ । “केहि खानाका प्याकेटहरु बोकेर हिडेका हुन्छौं,गौचनले भने बाटोमा साह्रै समस्यामा परेकाहरु भेटिएमा उनिहरुलाई दिएर आउछौं”।

साथै डल्लेले समस्यामा परेकाहरुलाई पनि खाना र खाजा खुवाउदै आएका छन् । सामाजिक सञ्जाल र समचारलाई आधार मानेर उनिहरुले खाना पुर्याउने गरेको उनले बताए । डल्लेको हालसम्म ९ वटा आउटलेट सञ्चालनमा छ । यस अघि २०७२ सालको भुकम्पको बेला पनि डल्लेले निशुल्क खाना खुवाएको सञ्चालकको भनाइ छ ।

