आज पनि नेपालका बहुसङ्ख्यक जनता कृषि क्षेत्रमा निर्भर रहेका छन्। कुल गार्हस्थ उत्पादन जीडीपीकाे एक तिहाइ हिस्सा यो क्षेत्रको रहेको छ। नेपाल कृषिप्रधान मुलुक हो। मानव जातिको जीवनयापनको मुख्य आधार कृषि तथा पशुपन्छी उत्पादन र पालनमा निर्भर छ। तर, सरकार सञ्चालक भने यो यथार्थलाई स्वीकार गरेर यो क्षेत्रलाई प्रवर्धन गरेको छैन बरु यो क्षेत्रलाई निरुत्साही गरिरहेको तथ्यले बताउँछन्।
राजनीतिक पार्टीहरू निर्वाचनमा जाँदा यो क्षेत्रलाई विकास गर्न केही न केही भनिरहेका हुन्छ तर सरकारमा गएपछि त्यति पनि गर्दै गरेको पाइँदैन। नयाँ सरकारको सयबुँदे प्रतिबद्धतापत्रमा उत्पादन र स्वनिर्भर हुने योजना छुट्नु सामान्य विषयको रूपमा बुझ्नुहुँदैन। समय छ, यसलाई सरकारले नछुटाई काम गर्न सकोस्। यसका लागि लामो समयदेखि यस क्षेत्रमा काम गरिरहेका व्यवसायी, अध्येता र अभियन्ता रहेको अधिकारसम्पन्न आयोगको गठन गर्नुपर्दछ। टिके, झोले, आसेपासे प्रथाको अन्त्य गरिनु पर्छ। जसले गर्दा प्रतिफलमुखी काम हुन सकोस्।
प्रशोधनशालाबाट मासु, कुखराको दानाको आधार, छाला, हड्डीलगायतका अतिरिक्त तर अति आवश्यक पदार्थको उत्पादन हुने र त्यसमा आधारित उद्योग स्थापना हुनेलगायतका सम्भावना रहेकाले नेपाल र नेपालीको स्वनिर्भर र स्वनिर्माणको वस्तुगत ठोस आधार निर्माणको सुनिश्चितता हुन्छ।
आधार
मानव समाजको उषाकालदेखि नै कृषि पशुपालन मानव जातिको विकासमा अभिन्न अङ्ग बन्दै आइरहेको छ। यसले अनेकौं चरण पार गरिसकेर आज आधुनिक चरणमा प्रवेश गरिसकेको छ। विज्ञान र प्रविधिको अभूतपूर्व आविष्कारले गर्दा मानव जातिले प्रकृतिलाई जीवन अनुकुल बनाइ हजारौं विकल्प तयार गरिदिएको छ। जीवनयापन सजिलो बनाउन एक हदसम्मको सफलता हासिल गरिसकेको छ। समयक्रममा अरू थप सफलता हासिल हुनेछन्। तर, प्राकृतिक खाद्यान्नको विकल्प भने प्राकृतिक खाद्यान्न नै हो। अर्थात प्रकृतिको विकल्प प्रकृति नै हुन्छ कृतिम प्रकृति हुन सक्दैन।
नेपाली समाजको जीवनयापनको प्रमुख पक्ष कृषि तथा पशुपालन नै हो। यस क्षेत्रबाट आर्जन भएको उपलब्धीलाई थप व्यवस्थित बनाउन लामो समयदेखि हामीहरूले प्रयास गरिरहेका थियौं कि यो क्षेत्रको व्यवसायिक विकास गर्न आन्तरिक खपतलाई पुरा गर्दै निर्यातको स्तरमा पुर्याउनु। तर, अनेकौं कारणले गर्दा हाम्रो रैथाने कृषि तथा पशुपालन प्रणाली धरासाही हुँदै गई रहेको अवस्थामा व्यवसायीको पहलमा नेपाल सरकारको प्रधानमन्त्रीको नेतृत्वमा २०८१ मंसीर १७ देखि २१ गतेसम्मको मैत्रीपूर्ण चीन भ्रमणको क्रममा १८ गते चीनमा सम्पन्न पहिलो ९ बुँदे सम्झौता हुन सक्यो। यो सम्झौताको बुँदा नं. ४ मा थर्मल प्रोसेस बफेलो मिट रहेको छ। यसबाट अब प्रकृया पुरा गरेको मासु नेपालबाट निर्यातको बाटो खुलेको छ। नेपालमा व्यावसायिक राँगाभैंसीपालन तथा यसमा आधारित अन्य उत्पादनका क्षेत्ररूको ठोस आधार निर्माण भएको छ। यसबाट अर्वैंको आन्तरिक खपत पुरा हुने, निर्यात हुने, पूर्ण रोजगारको अवस्था तयार हुन गई अर्थतन्त्र बलियो बन्ने ‘ठोस आधार’ देखिन्छ।
‘राँगाभैंसीपालन’लाई किन ‘राष्ट्रिय गौरव आयोजना’ भन्ने?
राँगाभैंसीपालनको बहुआयामिक लाभको क्षेत्रलाई पुँजीकृत गरिनुपर्छ। यो भनेको नेपालमा आजसम्म पशुपालन जीवन निर्वाहका लागि मात्र हुने गर्दथ्यो। राँगाभैंसी पालन दुधका लागि हुने गर्दथ्यो। यसको व्यवसायिक उत्पादन भने हुन सकिरहेको थिएन। यसो हुनुका धेरै कारण हुन सक्छन्। अब भने यसको व्यवसायिक उत्पादन र बजारको सुनिश्चितता भएको छ। पशुपालन एक कार्यबाट अनेकन उद्योगहरू स्थापना र विकास हुने अवस्था सिर्जना हुन्छन्। उदाहरणका लागि,
क. नेपालमा उत्पादन भएका राँगाभैंसीको मासु चीन सरकारले किनिदिने नीतिगत सहमति गरेको छ। यसपछि कारोबारको व्यवसायिक सम्झौता जियान फूड र हिमालयन फुडबीचमा भएको छ। दैनिक ५ हजार (कम्तीमा) राँगा नेपाली किसानसंग खरिद गर्ने सम्झौता भएको छ। यसका लागि २ सय मिलियन डलर हिमालयन फूडका लागि जियान फुडले लगानी गर्ने सम्झौता भएको छ। मासु प्रशोधन केन्द्र निर्माणका लागि २० अर्ब नेपाल भित्रिइसकेको छ। नेपाल सरकारले खोरेत रोग मुक्त क्षेत्र घोषणा गरी कार्य अगाडि बढाएको मरिन करिडोरको मरिण गाउँपालिकामा जग्गा खरिद र प्रशोधन केन्द्र तथा यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम अगाडि बढिरहेको छ। दैनिक ५–९ हजार जनवर आवश्यक पर्ने उद्योगका लागि चाहिने कच्चा पदार्थको आपूर्तिका लागि देशभरि नै पशुपालनको योजना बनाई अगाडि बढ्नुपर्नेछ। यसले गर्दा देशको राष्ट्रिय आयमा गुणात्मक परिवर्तन गरिदिने भएकाले,
ख. नेपालको कृषि जनगणना २०७८ अनुसार नेपालमा कुल ६६ लाख भन्दा बढी घरधुरी मध्ये ४१ लाख बढी घरधुरी किसान छन्। त्यसमा ३९ लाख बढी घरधुरी किसान कृषिजन्य पेसामा निर्भर रहेका छन्। अर्थात कुल जनसंख्याको ६६ प्रतिशत भन्दा बढी झन्डै दुई करोड जनसंख्या आजपनि कृषिमा आधारित जीवनयापन गरिरहेका छन्।
यो क्षेत्रलाई ‘राष्ट्रिय गौरव आयोजना’ घोषणा गरेपछि यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन्छ। रोजगारी शतप्रतिशत वृद्धि हुन्छ। खर्बाैंकाे राष्ट्रिय आवश्यकता पूरा गर्दै निर्यात हुने हुँदा राष्ट्रिय अर्थतन्त्र निर्माणको आधारशिला तयार हुन्छ। बिदेसिएको जनशक्ति र पुँजी फर्कने आधार तयार हुन्छ।
उनीहरू पटके कृषि तथा पशुपालनमा छन्। व्यवसायिक हुन सकिरहेका छैनन्। उनीहरू सबै एकैपटक व्यवसायी बन्ने आधार बन्यो भने नेपाली किसान तथा राष्ट्रको आम्दानी ठूलो स्तरमा बृद्धि हुने सुनिश्चित छ। निर्वाहका लागि गरिएको यो क्षेत्रको राष्ट्रिय योगदान ३६ प्रतिशतभन्दा बढी रहेको छ। यसलाई थप उचाइमा पुर्याउन,
ग. तथ्यांकअनुसार नेपाली किसानको घरमा अहिले ३५ लाखको हाराहारी राँगाभैंसी छन्। मासुका लागि राँगाभैंसीपालन कार्यक्रम सुरु हुनासाथ अर्थात व्यवसायिक लाभको सुनिश्चितता हुनासाथ यसको संख्या दोबर चौबर हुने निश्चित छ। यसमा व्यवसायिक पालन भएपछि नेपाल एक राँगाभैंसीपालनको ‘हब’ हुने निश्चित भएकाले,
घ. अहिले नेपालमा खपत हुने कृषि तथा पशुजन्य उपभोग्य वस्तुहरू ९० प्रतिशतभन्दा बढी आयात हुने गर्दछ। कमसेकम यो आयोजना प्रारम्भ भएपछि आन्तरिक मागको परिपूर्ति हुने र निर्यात हुने आधारको सुनिश्चितता हुने भएकाले
ङ. दूधका लागि मात्र पालन गरिएका राँगाभैंसीहरू अब दुध, मासु, मलका लागिपालिने र उद्योगकै रूपमा विकास हुने भएकाले,
च. नेपालमा आज पनि दुध तथा दुधजन्य पदार्थ विदेशबाट आयात गर्नु पर्ने अवस्था रहेकोमा यसबाट देशको आवश्यकता पूरा गरी निर्यातको अवस्था सिर्जना गर्न सक्ने भएकाले,
छ. यसका लागि ठूलो मात्रामा घाँसको आवश्यकता पर्दछ। त्यसमा पनि पोषिलो घाँस। घाँसको व्यावसायिक उत्पादन प्रशोधन उद्योगको रूपमा स्थापित हुने निश्चित हुने भएकाले,
ज. जनावरको मलमूत्रबाट जैविक मल उत्पादन गरी हाम्रो घाँस लगायतका समग्र कृषि प्रणालीलाई नै जैविक उत्पादन प्रणालीमा रुपान्तरण गरी स्वच्छ, स्वस्थ्य तथा गुणस्तरीय जीवनयापनको आधार निर्माण गर्ने भएकाले,
झ. प्रशोधनशालाबाट मासु, कुखराको दानाको आधार, छाला, हड्डीलगायतका अतिरिक्त तर अति आवश्यक पदार्थको उत्पादन हुने र त्यसमा आधारित उद्योग स्थापना हुनेलगायतका सम्भावना रहेकाले नेपाल र नेपालीको स्वनिर्भर र स्वनिर्माणको वस्तुगत ठोस आधार निर्माणको सुनिश्चितता भएकाले।
नेपालको समृद्धिका लागि ‘राँगाभैंसी पालन राष्ट्रिय गौरव आयोजना’ घोषणा गरिनु पर्दछ। यसो गर्नका निम्ति नेपाल सरकारलाई कुनै प्रकारको ठूलो दायित्व बढ्दैन किनभने नेपालका ७७ वटै जिल्ला तथा ७५३ ओटै स्थानीय पालिकामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सञ्जाल पुगेको छ। यसकारण पहाडी क्षेत्रलाई खोरेत रोग नियन्त्रण र उन्मुलन भएको क्षेत्र घोषणा गर्न सकिन्छ। तराईका जिल्लामा सुरक्षित पालन गर्न सकिन्छ। यो क्षेत्रबाट आम्दानीको सुनिश्चितता हुने देखिएपछि व्यवसायी तथा बैंकहरूको चासो र लगानी बढ्ने हुन्छ। देशभरि रहेका सबै बेरोजगारलाई एउटै निर्णयले रोजगार बनाउन सक्दछ। र व्यापक आम्दानीको क्षेत्रको नजिक पुर्याइदिन सक्छ।
यसका लागि गरिनुपर्ने काम
सरकारले तत्काल ‘पशु बधशाला तथा मासु जाँच ऐन २०५५’ कार्यान्वयनको प्रारम्भ भएको घोषणा गर्नुपर्छ। नेपालमा रहेको खोरेत रोग उन्मूलनको कार्य थालनी गर्ने र उन्मूलन रहेको क्षेत्र बनाउँदै जाने काम अभिलम्ब गरिहाल्नुपर्नेछ। यसका लागि थप कानुनी, आर्थिक र व्यवसायिक व्यवस्थापन आधार तयार गर्नुपर्दछ। वास्तविक सरोकारवालाहरूसँग सहकार्य गरेर योजना बनाउनुपर्छ। अनुदान दिने प्रथाको अन्त्य गरिनु पर्छ र वास्तविक किसानलाई सहुलियतपूर्ण ऋण प्राप्त हुने अवस्थाको सिर्जना गर्नुपर्छ। किसानमैत्री भूमि व्यवस्था तत्काल हुनुपर्छ। पशुजन्य रोगको अन्त्यका लागि योजनाबद्ध काम गर्नुपर्दछ।
विश्व स्वास्थ्य संगठन, विश्व पशु स्वस्थ्य सङ्गठन तथा अन्तरदेशीय पशुजन्य पदार्थहरूको ओसारपसारका समस्या समाधान गर्नुपर्नेछ। पोसिलो घाँस उत्पादन र राँगाभैंसीको नश्ल सुधार कार्यक्रम चलाउनुपर्दछ। देश भरिका किसानमा पशुपालन तथा यसमा आधारित कार्यमा जागरण दिने कार्यशाला चलाउनुपर्नेछ। किसान लगानी मैत्री अर्थनीति, मौद्रिक नीति, लगानी नीति बनाइ कार्यान्वयन गर्नु पर्दछ। यस प्रकारका काममा नेपाल सरकार र निजी क्षेत्रबाट स्थापित बफेलो इनिसियटिभ नेटवर्क केही आ–आफ्नो कार्य प्रारम्भ गरिसकेका छन्।
‘कृषक तथा पशुपालक’ किसान मध्ये उत्कृष्ट किसानलाई प्रोत्साहन र पुरस्कृत गर्न ‘उत्कृष्ट कृषक तथा पशुपालक किसान छनोट कार्यविधि तयार गरी कार्यान्वयन गरहाल्नु पर्छ। बिचौलिया किसानको उन्मूलनका लागि सबै तह र क्षेत्रमा किसान सहयोग समितिको भरपर्दो व्यवस्था मिलाउनुपर्छ। जसले किसानलाई बैंकिङ, उत्पादन, प्रशोधन, ढुवानी, विक्री वितरणमा सहजीकरणको काम गरोस्।
आवश्यक पूर्वाधार
नेपाली समाजका जोकोही किसानले सजिलै गर्न सक्ने काम भनेको कृषि तथा पशुपालन हो। यसबाट फाइदा हुन्छ भने धेरै व्यवसायी पनि यो क्षेत्रमा भित्रिन सक्दछन्। नेपाल भौगोलिक विविधता, जैविक विविधता, पर्यावरणीय विविधतासंगै जनशक्तिको पनि विविधताले सुसज्जित देश हो। तराई र पहाडमा सजिलै राँगाभैंसीपालन हुन्छ। यहाँ त्यस अनुसारका पोसिला जातका घाँसको उत्पादन पनि सजिलै गर्न सकिन्छ।
सरकारी स्तरबाट कृषिसेवा र पशुसेवा गाउँ स्तरमा दिने १००० भन्दा बढी सेवा कार्यालय रहेका छन्। त्यही अनुसारका भेटेरिनरी डाक्टर र प्राविधिक छन्। जनसंख्याको ६६ प्रतिशत भन्दा बढी जनताहरू यस क्षेत्रमा निर्भर रहेका छन्। यो क्षेत्रमा प्रतिफल राम्रो छ भनेपछि सबैजसो नेपालीको लगानी गन्तव्य यही क्षेत्र बन्न सक्छ।
चुनौतीहरू
नेपालमा श्रमको सम्मान गर्ने परिपाटी नहुनु सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ। यसो हुनुमा इतिहासकाल देखि नै नेपालीको संस्कार र संकृति शक्ति र भक्तिको उपासनाको वरिपरि घुमिरहनु हो। कर्म गर फलको आश नगरको धारणाबाट मुक्त हुन नसक्नु हो। उच्च जात र निच जातको व्यवहार गर्नु हो। ठूलो र सुकिलो काम र सानो र फोहार काममा विभेद गर्न हो। छुत र अछुतको व्यवहारलगायत अनेकौं विभेदजन्य कार्यहरूलाई धार्मिक एवम् सांस्कृतिक मान्यता दिनुले आजसम्म पनि समाजमा श्रमलाई सम्मानित र पहिलो कार्य मान्ने परिपाटीको स्थापना हुन सकिरहेको छैन। त्यसमा पनि गोबर भैंसीको काम ? पढेलेखेकाले भैंसी पाल्ने, गोबरको काम गर्ने ? आजको समयमा पनि यस्तो काम गर्ने ? फेरि किसानको स्वामित्वमा प्रयाप्त जमिन छैन, श्रोत छैन, पूर्वाधार छैन, किसानसँग भएको उत्पादनको उचित मुल्य र बजारको सुनिश्चितता छैन। त्यसमाथि खोरेत रोगको संक्रमण छ। नश्ल सुधारको कुनै गतिलो योजना छैन। यो क्षेत्रमा समाज र सरकारको उदासीनता रहेको छ।
नेपालमा विदेशी लगानी भएका क्षेत्रको प्रभावकारिता न्यून रहेको छ। यसकारण पशुपालन र यसलाई प्रशोधन गरी निर्यात योग्य बनाउनलाई वास्तवमै राष्ट्र गौरव अभियानमा आँच आउन नदिन सरकार र निजी क्षेत्रको सही समन्वयमा योजना कार्यान्वयन हुन सक्नुपर्दछ। यो अभियान कार्यान्वयनका लागि दलीय स्वार्थभन्दा माथि उठेर देशको स्वार्थलाई प्राथमिकता दिन सक्नुपर्दछ किनभने यो अभियान हामी सबै नेपालीको साझा हितको अभियानको रूपमा प्रवर्धन गर्न सक्नुपर्दछ।
निष्कर्ष
यो क्षेत्रलाई ‘राष्ट्रिय गौरव आयोजना’ घोषणा गरेपछि यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन्छ। रोजगारी शतप्रतिशत वृद्धि हुन्छ। खर्बाैंकाे राष्ट्रिय आवश्यकता पूरा गर्दै निर्यात हुने हुँदा राष्ट्रिय अर्थतन्त्र निर्माणको आधारशिला तयार हुन्छ। बिदेसिएको जनशक्ति र पुँजी फर्कने आधार तयार हुन्छ। नेपालमा कृषि पर्यटनको अभिवृद्धि हुन्छ। नेपालीलाई मात्र चाहिएको छ– ‘भोको मानिसलाई माछा नदेऊ बरु उसलाई माछा मार्न सिकाइदेऊ।’ यो सोंच सही छ। नेपालले भिख माग्ने हैन, काम माग्ने हो, सिकाइ सिक्ने हो। जब हामी काम सिक्न थाल्नेछौं, काम गर्न थाल्नेछौं तब हाम्रा तमाम बाधा हटेर जानेछन्।
(लेखक, पशु वधशाला व्यवसायी संघ, नेपालका महासचिव तथा बफेलो इनिसियटिभ नेटवर्कका संस्थापक हुन्)