काठमाडौं। केपी शर्मा ओली सरकारलाई टेको दिँदै आए पनि जेनजी आन्दोलनले प्रधानमन्त्री पदच्युत भएपछि नेपाली कांग्रेसको सामान्य विज्ञप्ति निकाल्नेबाहेक हालसम्म कुनै राजनीतिक बैठक बसेको छैन। आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि बूढानीलकण्ठ निवासमै घुसेर प्रदर्शनकारीले भौतिक आक्रमण गरेपछि हाल अस्पतालमा उपचार गराएर फलोअपमा छन्।
बैठकमा देउवा सहभागी हुने/नहुने अहिलेसम्म टुंगाे लागेकाे छैन।
प्रधानमन्त्रीबाट गलहत्याइनुपरेको रिस एमाले अध्यक्ष ओलीले पोखिरहे पनि तत्कालीन गठबन्धनमा ‘वेटिङ पीएम’को लाइनमा रहेका र कुटाइ खाएका देउवा भने हालसम्म बोलेका छैनन्। अझ पछिल्लो समय कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रमा पार्टी कब्जा गरेर बसेका ‘बूढा’नेतालाई नेतृत्व छाड्न दबाब परिरहेको छ।
यद्यपि, यस मामलामा ओली र पुष्पकमल दाहालले नमरुन्जेल अध्यक्ष नछाड्ने घोषणा गरिसकेका छन्। तर, यसबारे देउवाको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। यस्तो बेला कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको होटल हिमालयमा बस्दै छ। सानेपा मुख्यालयमा जेनजी आन्दोलनकारीले आगो झोसेपछि बैठक बस्न नमिल्ने हुँदा हिमालय होटल रोजिएको हुन सक्छ।
पार्टी सभापति देउवाले बोलाएको बैठकले असोज २६ मा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्ने बुझिएको छ। बैठकमा सुशीला कार्की नेतृत्वको सरकारले गरिरहेका काम–कारबाही, फागुनमा हुने भनिएको निर्वाचन, आन्दोलनमा क्रममा गरिएको आगजनी, गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिको गतिविधि, सभापतिलाई नेतृत्व छाड्न गरिएका आग्रह, पार्टी गतिविधिलगायत विषयमा छलफल हुने निश्चित छ।
पछिल्लो समय कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रमा पार्टी कब्जा गरेर बसेका ‘बूढा’नेतालाई नेतृत्व छाड्न दबाब परिरहेको छ। केपी ओली र पुष्पकमल दाहालले नमरुन्जेल अध्यक्ष नछाड्ने घोषणा गरिसकेका छन्। तर, यसबारे देउवाको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।
देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देउवाले पहिलोपटक पदाधिकारी बैठक बोलाएका हुन्।
जेनजी आन्दोलनका क्रममा घरमै आक्रमण परी घाइते भएर अस्पताल भर्ना भएका देउवा त्यसयता सार्वजनिक भएका छैनन्। देउवा अस्पतालबाट डिस्चार्ज भए पनि अहिलेसम्म सार्वजनिक भएका छैनन्।
घरमा समेत लुटपाट, आगजनी र तोडफोड भएपछि अस्पतालबाट निस्केपछि उनी भाडाको घरमा बस्दै आएका छन्। सीमित नेतासँग मात्र भेट गरेका सभापति देउवाले असोज २६ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका हुन्।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले देउवालाई पदबाट हटाउन विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिरहेका छन्।
जेनजी आन्दोलनपछि व्यक्ति व्यक्तिका वक्तव्य आए पनि नेपाली कांग्रेसले नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने धारणा सार्वजनिक गरिसकेको छैन। जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटित भएको छ। प्रतिनिधिसभाको विघटनलाई देउवाबाहेकको कार्यसम्पादन समिति बैठकबाट कांग्रेसले असंवैधानिक भनेको छ। महामन्त्रीद्वयको पहलमा देशभर हस्ताक्षर अभियान चलिरहेको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने बैठकमा सभापतिमाथि नेतृत्व छाड्न दबाब दिने विषय बाहिर ल्याइए पनि विधि र प्रक्रियाअनुसार हुनुपर्ने बताए। निर्वाचित सभापतिलाई हठात् हटाउने अभियान चलाइँदा कांग्रेस कमजोर हुनेतर्फ सबैले ध्यान दिनुपर्ने उनको सुझाव छ।
अझ कांग्रेसमा देउवा हटाउन ४० प्रतिशत हस्ताक्षर पुर्याइएका समाचार बाहिरिएका छन्। यस्तो बेला घाइते देउवाले बैठकमा के भन्लान् भनेर सर्वत्र चासो छ। कांग्रेस मौन बसिदिँदा प्रजातन्त्र विरोधी चिच्याएको भनेर नागरिक समाज र बौद्धिक वर्गले चासो लिइरहेका बेला आजको पदाधिकारी बैठकमा देउवाबाट नेतृत्व छाडेको घोषणा गर्ने अड्कालबाजी हुँदै छ ।