काठमाडौं। प्रधानमन्त्री सुशिला कार्कीले आफ्नो ६ महिने कार्यकाल सफलतापूर्वक पूरा गर्दै नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि बिहीबार राष्ट्रका नाममा विशेष सम्बोधन गरेकी छन्। जेनजी आन्दोलनपछि उत्पन्न असहज परिस्थितिमा सरकारको नेतृत्व सम्हालेकी उनले देशलाई पुनः लोकतान्त्रिक र संवैधानिक मार्गमा फर्काउन आफ्नो सरकार सफल भएको दाबी गरिन्।
सम्बोधनको सुरुवातमै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरिन्। साथै, २ हजार ६ सयभन्दा बढी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारलाई राज्यले एक्लो नछोड्ने प्रतिबद्धता जनाइन्। आन्दोलनका कारण करिब ८४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै उनले देश पुनःर्निर्माणमा अघि बढ्ने विश्वास व्यक्त गरिन्।
‘म आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेको छु, जहाँ हाम्रो एकता र इमानदारीले नयाँ इतिहास लेख्नेछ,’ उनले भनिन्। प्रधानमन्त्रीले आफ्नो सरकारको प्रमुख कार्यादेश निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै फागुन २१ गते देशभर एकै चरणमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई ऐतिहासिक उपलब्धि बताइन्।
निर्वाचन आयोग, सुरक्षा निकाय र आम मतदाताको सक्रियताले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै उनले सबैप्रति आभार व्यक्त गरिन्। सुशासनको क्षेत्रमा पनि आफ्नो सरकारले केही आधार तयार गरेको दाबी गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो लाई पूर्ण व्यावसायिक स्वतन्त्रता दिइएको जानकारी गराइन्।
मंसिर २४ गते आन्दोलनकारी पक्षसँग भएको सम्झौताको स्मरण गर्दै उनले बाँकी कामहरू नयाँ सरकारले प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरिन्। साथै, आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको पनि उनले बताइन। प्रभावित उद्योग तथा व्यवसायलाई राहत दिन ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिइन्।
युवाहरूको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनामा ठोस नतिजा आउने अपेक्षा व्यक्त गरिन्। ‘यदि कुनै कमजोरी रह्यो भने त्यसको भागिदार म स्वयम हुनेछु, तर राम्रा कामको श्रेय नेपाली जनतालाई जान्छ,’ भन्दै उनले आफ्नो कार्यकालमा कुनै पनि काम खराब नियतले नगरेको दाबी गरिन्।