काठमाडौं। जेनजी आन्दोलनबाट सत्ताच्युत हुन पुगेको नेकपा एमालेले सडक आन्दोलन सुरु गरेकै दिन असोज २३ मा महिना दिन पूरा भएको छ। यसबीचमा आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गौरीबहादुर कार्की अध्यक्षताको समिति बनेको छ भने जेनजी पुस्तालाई मतदानमा सहभागी गराउन मतदानसम्बन्धी कानुन राष्ट्रपति अध्यादेशमार्फत बदलिएको छ।
तर, तत्कालीन सत्ताधारी एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अमान्य घोषणा गरिसकेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राती भिडियो सन्देश जारी गर्दै जेनजी युवाले चाहेको परिवर्तनलाई लिएर राजनीतिक दलहरूले आफूलाई सुधार गर्न जरूरी भएको बताएकी छन्।
युवाले चाहेको परिवर्तन आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्ने उल्लेख गर्दै उनले यसका लागि सबै युवा सचेत हुनुपर्ने आवश्यकता औंल्याइन्। ‘विगतका सरकारले युवाको आवाज सुन्न सकेनन्, उनीहरूका माग सुन्न सकेनन्। हामी सबैले आफ्नो कमजोरी र गल्ती स्वीकार गर्नुपर्छ,’ उनले भनिन्।
भविष्यको नेपाल निर्माणमा जेनजी युवाहरूलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गरिने उनले बताइन्।
पीडित परिवारलाई राहत दिन र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याइने, जेनजी आन्दोलन क्रममा युवाहरूले गरेको बलिदानका पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहनालाई पूरा गरिने संकल्पसमेत उनले व्यक्त गरेकी छन्।
युवाले देशमा न्याय र विधिको शासनको अपेक्षा गरेका, भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्न चाहेकाले यसलाई सबैले पूरा गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिइन्।
भ्रष्टाचार, बेराजगारी, विभेदलगायतका समस्या सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्न प्रतिबद्ध उनले बताइन्। सहिदको बलिदान खेर जान नदिइने उनले प्रतिबद्धता जनाएकी छन्।