काठमाडौं। आगामी मंसिरमा सकिने वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई फागुनको चुनावसम्म निरन्तरता दिनुपर्ने संस्थापन पक्षको अडान र मंसिरमै महाधिवेशन हुनुपर्ने शेखर कोइराला समूहको अडानपछि कांग्रेसमा विवाद चुलिएकाे छ।
कांग्रेसमा विवाद निम्तिएसँगै भदौ २८ देखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै नबसी स्थगितसमेत गर्नुपरेको छ। विवादसँगै कांग्रेसमा संस्थापन कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह र शेखर समूहले आ–आफ्नै रणनीति अगाडि बढाइरहेका छन्।
आज विशेष महाधिवेशन गर्ने कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यले भेला गरिरहेका छन्। नयाँ बानेश्वरस्थित आनन्दभूमि बैंक्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्य छलफलमा रहेको केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए।
भेलामा भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, भण्डारी, मीन विश्वकर्मा, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बू, गुरु बराल, नैनसिंह महरलगायतका नेता सहभागी छन्।
भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेला संकटको निकास निकाल् छलफलमा गरिरहेको बताएका हुन्। आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीबाट तत्काल संस्थागत निर्णय गरिनुपर्ने दबाब दिने तयारीस्वरुप भेला आयोजना गरिएको उनको भनाइ छ।
शेखरसँग विशेष महाधिवेशन पक्षधरको भेटवार्ता
कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ।
हस्ताक्षर बुझाएपछि पार्टी केन्द्रीय समिति बैठकमा बहस चलिरहेका सन्दर्भमा नेता कोइरालासँग भेट गरी चार वर्षे कार्यकालभित्रै १५औं महाधिवेशन वा विकल्पमा विशेष महाधिवेशनको कार्यतालिका ल्याउन माग गरिएको हस्ताक्षर संकलनको नेतृत्व गर्दै आएका नेता गुरुराज घिमिरेले बताए।
भेटमा नियमित वा विशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचन अहिलेको एकमात्र बाटो रहेको नेता कोइरालाले बताएको नेता घिमिरेले जनाए। नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशनका लागि आफूले पनि पहल गर्ने उनले प्रतिबद्धता जनाएको कांग्रेस नेता मनोजमणि आचार्यले बताए।
नियमित महाधिवेशन नहुने अवस्थामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टीको विधानबमोजिम हस्ताक्षर बुझाउँदा पनि विधान पालना नभए आत्मघाती हुन सक्नेतर्फ पनि नेता कोइरालाको ध्यानाकर्षण गराइएको उनको भनाइ छ।