काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा युवा व्यवसायी निराजन बहादुर चलाउनेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। चलाउनेले वस्तुगततर्फबाट उम्मेदवारी घोषणा गरेका हुन्।
आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै चलाउने भन्छन्, ‘नेपालको व्यावसायिक एवं औद्योगिक परिवेश आज एउटा ऐतिहासिक मोडमा उभिएको छ। लामो समयदेखिको नीतिगत अकार्यकुशलता र संरचनात्मक जटिलताले हाम्रा उद्यमीको वास्तविक सामर्थ्यलाई खुम्च्याएको छ, विशेषगरी वस्तुगत क्षेत्रमा।’
उनी थप्छन्, ‘मेरो संकल्प स्पष्ट छः नेपाली वस्तु बजारलाई परम्परागत ढर्राबाट मुक्त गरी एक आधुनिक, पारदर्शी, प्रविधिमैत्री र विश्वस्तरमा प्रतिस्पर्धी प्रणालीका रुपमा स्थापित गर्ने। म केवल सुधार मात्र होइन, रुपान्तरणको मार्गचित्रसहित आएको छु। मैले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सरकारी संयन्त्रमा बसेर समस्याको पहिचान गरिसकेको छु। अब समाधान गर्नु छ।’
एक दशकभन्दा लामो समयदेखि नेपालको व्यावसायिक क्षेत्रमा आबद्ध चलाउनेले खाद्यान्न, दलहन, तेलहन व्यवसायका साथै, होटल, पर्यटन, कृषि र जटिबुटीजन्य व्यवसायमा समेत लगानी विस्तार गरेका छन्।
नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्वन विकास समितिको बोर्ड अफ डाइरेक्टरका रुपमा दोश्रो कार्यकालको काम गरिरहेका चलाउनेसंग महासंघका विभिन्न विषयगत समितिसहित विभिन्न सामाजिक संघसंस्था र सामाजिक सेवाको समेत अनुभव छ।