काठमाडौं। नेपाली कांग्रेसभित्र मंसिरमा केन्द्रीय कार्यसमिति पदाधिकारीको पदावधि सकिने हुँदा महाधिवेशन गर्नुपर्ने र फागुनको निर्वाचनका कारण वैशाखमा लैजानुपर्ने दुवै पक्षको अडानबीच आज स्थगित केन्द्रीय कार्यसमिति बैठक बस्दै छ।
आजको बैठकमा सभापति शेरबहादुर देउवा संस्थापन पक्षले फागुनको निर्वाचनपछि कांग्रेस महाधिवेशन गर्नुपर्ने हुँदा मंसिरमा हालको कार्यसमितिलाई नै पूर्ववत् राखिनुपर्ने प्रस्ताव गर्नेछ भने शेखर कोइराला समूहले मंसिरमै महाधिवेशन गर्नुपर्ने तर्कसहितको महाधिवेशन कार्यतालिका प्रस्तुत गर्नेछ।
सोमबार बसेको कार्यसम्पादन समिति बैठकमा आइतबार महाधिवेशनबारे कुरो नमिलेपछि केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु गर्ने निर्णय भएको थियो। बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन्। सोही कारण आज कांग्रेस बैठक स्थगित हुने छैन।
महाधिवेशनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट वैशाखमा महाधिवेशन गर्ने अडान कायम राखेका छन्।
महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ। त्यसपछि छलफल अघि बढाउने तयारी छ।
बैठकमा मध्यमार्गी प्रस्ताव पनि आउन सम्भावना रहेको बताइन्छ। जेनजी आन्दोलनपछि कुटाइ खाएर थप उपचारका लागि सिंगापुर गएका पार्टी सभापति देउवाले कार्यवाहक दिएका उपसभापति पूर्णबहादुर खड्काले यतिबेला संस्थापन पक्षको नेतृत्व लिइरहेका छन्।
संस्थापन पक्षले महाधिवेशन फागुनपछि गर्नुपर्ने तर्क सहित विभिन्न बैठक गर्दै आएको छ भने इतर पक्षले मंसिरमै महाधिवेशन गर्न महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत हस्ताक्षर बट्लिसकेको दाबी गर्दै आएको छ।