काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)का मालिकहरूले टोली बिक्री गर्नेबारे विचार गर्न थालेका छन्। यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्यांकन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ।
विश्व प्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (युएसएल)ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसीबीमा गरेको लगानीको ‘रणनीतिक समीक्षा’ सुरु भएको औपचारिक रूपमा जनाएको छ।
युएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले बुधबार पठाइएको पत्रमा आरसीबीलाई ‘एक मूल्यवान र रणनीतिक सम्पत्ति’ भनेका थिए। तथापि, उनले यसलाई ‘हाम्रो मुख्य अल्कोबेभ व्यवसायसँग प्रत्यक्ष रुपमा सम्बन्धित नभएका’ कारण समीक्षा आवश्यक भएको बताए।
‘यो निर्णयले युएसएल र डियाजियो दुवैको भारतस्थित व्यवसायिक पोर्टफोलियोको समीक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता झल्काउँछ,’ सोमेश्वरले भने, ‘हामी आरसीबी र त्यससँग सम्बन्धित सम्पूर्ण हितलाई प्राथमिकतामा राख्ने छौँ।’
यो समीक्षा प्रक्रिया पुरुष तथा महिला दुवै टोलीका स्वामित्व सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेडसम्म फैलिने बताइएको छ। आगामी वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ।
सन् २००८ मा स्थापना भएको यो टी–२० क्रिकेट लिगमा आरसीबीले पहिलो पटक यसै वर्ष जुन महिनामा आइपीएल उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। ब्लुमबर्ग न्युजका अनुसार, टोलीका मालिकहरू अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब डलरसम्मको मूल्यांकन राखेका छन्।
तर, विजयको उत्सवपछि आरसीबीमाथि दुःखद क्षण आएको थियो। अहमदाबादमा अन्तिम जित हासिल गरेको एक दिनपछि, बैङ्गलोरको एम चिन्नास्वामी स्टेडियम बाहिर आयोजित विजय परेडमा ठेलमठेल हुँदा ११ जना प्रशंसकको मृत्यु भएको थियो। घटनामा ५० भन्दा बढी घाइते भएका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई ‘पूर्ण रुपमा हृदयविदारक’ भन्दै गहिरो शोक प्रकट गरेका थिए। टोलीका कप्तान विराट कोहलीले पनि सामाजिक सञ्जालमार्फत लेख्दै आफू ‘शब्दविहीन र अत्यन्त पीडित’ भएको प्रतिक्रिया दिएका थिए।