काठमाडौं। अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले नेपालको सुरक्षा अवस्थामा आएको सुधारलाई सकारात्मक रूपमा लिँदै आफ्नो यात्रा सल्लाह (ट्राभल एडभाइजरी)को स्तर घटाएको छ। २०२६ मार्च ३१ मा अद्यावधिक गरिएको जानकारीअनुसार नेपालको एडभाइजरी स्तर घटेर ‘स्तर २’ मा पुगेको छ।
सुरक्षा स्थिति स्थिर, तर सावधानी आवश्यक गत सेप्टेम्बर २०२५ देखि नेपालमा देखिएको देशव्यापी प्रदर्शन र नागरिक अशान्ति साम्य भएको र सुरक्षा स्थिति स्थिर बनेको अमेरिकी प्रतिवेदनमा उल्लेख छ। यद्यपि, सहरमा अझै पनि सानातिना प्रदर्शन र स्थानीय अशान्ति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पर्यटकलाई थप सावधानी अपनाउन आग्रह गरिएको छ।
बिनाकुनै पूर्वसूचना प्रदर्शन हिंसात्मक हुन सक्ने भन्दै अमेरिकी नागरिकलाई भीडभाडबाट टाढा रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न सल्लाह दिइएको छ।
स्वास्थ्य सेवा र बिमामा जोड
अमेरिकी सरकारले आफ्ना नागरिकलाई नेपालको स्वास्थ्य सेवाको सीमितता बारे पनि सचेत गराएको छ। काठमाडौंका अस्पताल तुलनात्मक रूपमा राम्रा भए पनि औषधी र उपकरणको अभाव हुन सक्ने तथा गम्भीर बिरामीको हकमा विदेशमै लैजानुपर्ने मेडिकल इभ्याकुयसन स्थिति (आपतकालीन) आउन सक्ने चेतावनी दिइएको छ। त्यसैले, नेपाल भ्रमणमा आउने पर्यटकलाई अनिवार्य रूपमा आकस्मिक उद्धार समेट्ने गरी स्वास्थ्य बीमा गर्न र आवश्यक औषधी साथमै बोक्न आग्रह गरिएको छ।
प्राकृतिक विपत्तिको जोखिम पछिल्लो प्रतिवेदनले नेपालमा भूकम्पको सधैं जोखिम रहने र जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा बाढी तथा पहिरोले यात्रामा अवरोध पुर्याउन सक्नेतर्फ पनि संकेत गरेको छ।
पर्यटकका लागि मार्गनिर्देशन नेपाल आउन चाहने अमेरिकी नागरिकलाई स्थानीय सञ्चारमाध्यममा अपडेट रहन, ुस्टेपु प्रोग्राममा दर्ता हुन र यात्रा बीिमा सुनिश्चित गर्न सुझाव दिइएको छ। एडभाइजरी स्तर घटेसँगै अबका दिनमा नेपाल आउने विदेशी पर्यटकको संख्यामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।