काठमाडौं। अमेरिकी इतिहासमै लामो मानिएको ३८ दिनसम्मको सटडाउनका कारण ५ हजार बढी घरेलु उडान रद्द भएका छन्। सटडाउनका कारण एयर ट्राफिक कम गर्न उडान कटौती गरिएको पहिलो दिनमै ५ हजार बढी विमान उडान स्थगित वा रद्द गरिएको सीएनएनले जनाएको छ।
सटडाउन जारी रहे आगामी दिन थप उडान कटौती हुने संघीय उड्डयन प्रशासन (एफएए)को घोषणा गरेको छ। अन्तर्राष्ट्रिय उडानलाई भने यसको असर पर्ने छैन। सटडाउनका कारण तलब नपाएपछि विमानस्थलका कर्मचारीमध्ये केही बिदामा छन् भने केहीले अतिरिक्त काम गरिरहेको बताइएको छ।
‘यो अस्वाभाविक हो। जसरी सटडाउन अस्वाभाविक हो। जसरी हाम्रा कन्ट्रोलरले महिना दिनदेखि तलब नपाउनु अस्वाभाविक हो,’ एफएएका प्रमुख बार्यन बेडफोर्डले भनेका छन्।
३८ दिनदेखिको सटडाउनका कारण अमेरिकाका १४ लाख संघीय कर्मचारीले तलब पाइरहेका छैनन्। घरेलु उडान कटौती हुने ४० विमानस्थलको सूचीमा हार्टस्फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल, एटलान्टा विमानस्थल, डालस फोर्ट वर्थ इन्टरनेसनल, डेन्भर इन्टरनेसनल, सिकागो विमानस्थल, लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थललगायत रहेका छन्।
अमेरिका २२ मेदेखि नोभेम्बर २७ सम्म ‘थ्यांक्सविङ विक’ मनाइने गरेको छ। त्यसका लागि अमेरिकी नागरिक विभिन्न स्थान भ्रमण गर्ने गर्छन्। उडान कटौती वा रद्द गरिँदा नागरिकले सास्ती पाएका छन्।
गत बिहीबार फेडरल एभियसन एडमिनिस्ट्रेसन (फा)ले ४० अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान कटौती वा रद्द हुने घोषणा गरेको थियो। उडान कटौतीपछि कैयौं एयरलाइन्सल उडान रद्द गरेका छन्। दैनिक १८०० उडान कटौती हुँदा २.६८ लाख मानिस प्रभावित भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
डेल्टा एयर लाइन्स, युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, साउथवेस्ट एयरलाइन्स, एयरलाइन्स फर अमेरिकालगायत सटडाउनका कारण उडान रद्द वा कटौती गर्नुपरेको बताएका छन्।
ट्रम्प हेल्थ केयर कार्यक्रमको अनुदान बढाउने रिपब्लिकन र नबढाउनुपर्ने डेमोक्र्याटबीचको विवादले अमेरिकी माथिल्लो सदन सिनेटमा फन्डिङ बिल पारित नहुँदा सटडाउनको अवस्था आएको हो। दुवै दलले एकअर्कामाथि आरोप–प्रत्यारोप गरिरहेका छन्।
टेनेसीबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद स्टीव कोहेनले भने, ‘यो सबै राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक कदम हो। हामीलाई बजेट र अन्य प्राथमिकताका लागि बाध्य पार्ने कोसिस भएको छ। यसैको परिणाम स्वास्थ्य र पोषणलाभ योजना कटौती गरिएको हो।’
सटडाउनका कारण १३,००० कन्ट्रोलर्स र ५०,००० परिवहन सुरक्षा एजेन्टले बिनापैसा काम गर्नुपर्ने अवस्था छ।
सटडाउनका कारण ४.२ करोड अमेरिकीले पाउन फुड स्न्याप सहायता रोकिएको छ। अमेरिकी एग्रिकल्चर डिपार्टमेन्टसँग यो कार्यक्रम सञ्चालन गर्न ५ अर्ब डलरको रिजर्भ फन्ड रहेको छ, जबकि नोभेम्बरमा फुड स्न्याप कार्यक्रम जारी राख्न ९.२ अर्ब डलर आवश्यक पर्ने बताइएको छ।–एजेन्सी