काठमाडौं। अमेरिकामा जारी सरकारी बन्द (शटडाउन)का कारण हवाई सेवा व्यापक रुपमा अवरुद्ध भएको छ। सङ्घीय उड्डयन प्रशासन (एफएए)ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् ।
सरकारी बन्द कहिले अन्त्य हुने कुनै संकेत नदेखिएपछि देशका प्रमुख विमानस्थलमा यात्रुहरू अलमलमा परेका छन्। देशका व्यस्त विमानस्थलमा देखिएको अव्यवस्थाले लामो समयदेखि चलिरहेको सङ्घीय बन्दको असर झन् गहिरो बनाएको छ।
यात्रुहरूका गुनासा बढिरहेका छन्। डोमिनिकन गणतन्त्रमा आफ्नो परिवार भेट्न गइरहनुभएकी मियामीकी ३६ वर्षीया एमी होल्गुइन भन्छन्, “हामी सबै कतै न कतै जानै पर्छ। म आशा गर्छु सरकारले छिट्टै समाधान गर्छ।”
विश्लेषकका अनुसार यदि रद्द हुने दर बढ्दै गयो भने आगामी थ्याङ्क्सगिभिङ हप्तामा स्थिति अझ भयावह हुन सक्छ। यसले केवल हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि असर पार्ने छ। पर्यटन र छुट्टीका सामान ढुवानीमा नकारात्मक प्रभाव पर्न थालिसकेको बताइएको छ।
उडान रद्दको तथ्यांक
उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार मात्र एक हजार ५०० भन्दा बढी उडान रद्द भएका थिए। यसको अघिल्लो दिन संख्या एक हजार पुगेको थियो। आइतबारका लागि पनि थप एक हजारभन्दा बढी उडान रद्द गरिएको अमेरिकी एयरलाइन्सले जनाएका छन्।
एटलान्टा, शिकागो, नर्थ क्यारोलिनाको शार्लोट र न्युजर्सीको नेवार्क विमानस्थलमा दिनभर अवरोधका समाचार आएका छन्। विशेषगरी न्युयोर्क वरपरका विमानस्थलमा हवाई नियन्त्रकको अभावले ढिलाइ र रद्द बढाएको हो।
एफएएले सबै व्यावसायिक एयरलाइन्सहरूमा ४० प्रमुख विमानस्थलमा प्रारम्भिक रुपमा चार प्रतिशत उडान कटौती गरेको थियो। यो शुक्रबारसम्म बढ्दै १० प्रतिशत पुगेको हो। मंगलबार फेरि उडान कटौतीमा वृद्धि हुने अपेक्षा गरिएको छ।
यातायात मन्त्री सिन डफीले यदि सरकारी बन्द लामो समयसम्म जारी रह्यो भने अझ धेरै हवाई यातायात नियन्त्रकहरू तलब बिना काम गर्न अस्वीकार गर्न सक्ने र त्यसले थप उडान कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
उडान किन रद्द भइरहेका छन्?
नियन्त्रकले लगभग एक महिनादेखि तलब बिना काम गरिरहेका छन्। धेरैजसो कर्मचारी बिरामीको बहानामा काममा उपस्थित हुन सकेका छैनन्।
नेसनल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसनका अनुसार अधिकांश नियन्त्रकहरूले हप्ताको छ दिनसम्म तलब बिना ओभरटाइम काम गर्न बाध्य छन् र कतिपयले बिल तिर्न दोस्रो रोजगारी लिनुपरेको छ।
संघीय बन्द अन्त्य गर्न माग गर्दै उक्त संघले शनिबार अमेरिकी कांग्रेसका सदस्यलाई एक हजार ६०० हस्तलिखित पत्र पठाएको बताएको छ।