काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीस्थित व्यस्त क्षेत्र लालकिल्ला मेट्रो स्टेसन छेउ सोमबार बेलुकी भएको कार विस्फोटमा परेर हालसम्म १३ जनाले ज्यान गुमाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
लालकिल्ला चोकको ट्राफिक बत्तीमा रोक्न विस्तारै गुडिरहेको हरियाणा राज्यको नम्बर प्लेट अंकित हुन्डाईको आई२० कार विस्फोट भएको थियो।
घटनाबारे दिल्ली क्राइम ब्रान्च, स्पेसल ब्रान्च, फोेरेन्सिक साइन्स ल्याब (एफएसएल), नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए)लगायत एजेन्सीले अनुसन्धान थालेको भारतीय गृहमन्त्री अमित शाहले पत्रकारलाई भनेका छन्। दिल्ली पुलिसका आयुक्त सतिश गोल्छाले घटनाबारे भारतीय गृहमन्त्री अमित शाहलाई ब्रिफिङ गरेका छन् ।
यद्यपि हालसम्म भारतले विस्फोट आंतकवादी हमला थियो वा थिएन भनेर घोषणा गरेको छैन। गोल्छाका अनुसार कारमा अन्य यात्रु पनि सवार थिए । ठूलो विस्फोटका कारण अन्यत्रका गाडी पनि आगजनी र क्षतिग्रस्त भएका छन्।
दिल्ली प्रहरी र गुरुग्राम प्रहरीले कारधनी भनिएका मोहम्मद सलमानलाई नियन्त्रणमा लिएर कारसम्बन्धी सोधपुछ गरेका छन्। सलमानले उक्त कार ओखलामा बस्ने देवेन्द्र नामका व्यक्तिलाई बेचेकोे र उनले पनि अम्बालामा कुनै अन्य व्यक्तिलाई बिक्री गरेको खुल्न आएको छ। प्रहरीले ती सबैको खोजी गरिरहेको छ।
प्रहरीका अनुसार २४ जना घाइतेको लोकनायक अस्पतालमा उपचार भइरहेको छ। घटना भएलगत्तै बारुण यन्त्रले आगो निभाएका थिए।
घटनाप्रति भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंहलगायतले दुःख व्यक्त गरेका छन् भने नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
यस्तै, नेपाल सीमा जोडिएका उत्तराखण्ड, उत्तरप्रदेश, बिहार, पश्चिम बंगालसहित सबैजसो राज्यमा सुरक्षा सतर्कता बढाइएको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले घटनामा नेपाली सुरक्षित रहेको जनाएको छ । यद्यपि घटनालाई नजिकबाट नियालिरहेको र भारतीय अधिकारीसँग सम्पर्कमा रहिरहेको नेपाली दूतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापाले बताए।