काठमाडौं। अमेरिकी सरकारको इतिहासमै सबैभन्दा लामो शटडाउन अन्त्य हुने दिशामा रहेको छ। सोमबार सिनेटमा स्टपग्याप कोष विधेयक ६०-४० मतले पारित भएपछि देश पुनः सञ्चालनमा फर्किने आशा देखिएको हो।
यस विधेयकलाई समर्थन गर्न धेरै डेमोक्रेटिक सिनेटरले पार्टीको रेखा तोड्दै रिपब्लिकनसँग मत दिएका थिए। अब यो विधेयक प्रतिनिधि सभामा मतदानका लागि पठाइने छ। जहाँ रिपब्लिकनहरूको नियन्त्रण रहेको छ।
अक्टोबर १ बाट सुरु भएको शटडाउनका कारण करिब दश लाख संघीय कामदार बेतलबी बनेका थिए। विभिन्न सरकारी सेवा तथा सुविधा बन्द भएका थिए। हालै हवाई यातायातमा गम्भीर असर परेपछि दैनिक एक हजारभन्दा बढी उडान रद्द हुँदा राजनीतिक दबाब झनै बढेको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै भने, 'हामी हाम्रो देशलाई अब धेरै चाँडै पुनः खोल्ने छौँ। यो सम्झौता निकै राम्रो छ।'
सिनेटमा मतदानपछि रिपब्लिकन नेता जोन थुनले एक्समा लेखेका थिए, 'यो अनावश्यक शटडाउनलाई जिम्मेवार तरिकाले अन्त्य गर्न पाउँदा म अत्यन्त सन्तुष्ट छु। यसले संघीय कामदारलाई तुरुन्तै भुक्तानी दिलाउने छ र सरकार पुनः सञ्चालनमा ल्याउने छ।'
रिपब्लिकन विधेयकलाई समर्थन गर्ने डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले पनि एक्समा लेखे, 'सबैलाई खाना दिनुहोस्। हाम्रो सेना, सरकारी कर्मचारी र क्यापिटल प्रहरीलाई भुक्तान गर्नुहोस्। विमानस्थलको अराजकता अन्त्य गर्नुहोस्। देश पार्टीभन्दा ठूलो हो।'
सिनेटबाट विधेयक पारित भएपछि अब यो प्रतिनिधि सभामा पेश हुने तयारी भइरहेको छ। मंगलबार राष्ट्रिय बिदा भएकाले बुधबार बिहान चाँडै सभामा छलफल अपेक्षित छ। शटडाउनका क्रममा स्थगित गरिएको सदन यस हप्ता पुनः बोलाइने भएको छ।