काठमाडौं । कोराना भाइरसका कारण भोकभोकै बसिरहेका मिर्गौला पीडितलाई उद्योगी शशिकान्त अग्रवाल, अरुण डोकानिया र समपर्ण सेवा संस्थाले दैनिक रुपमा तीन छाक खाना खुवाइरहेका छन् ।
बनस्थलीस्थित राष्ट्रिय मृर्गौला केन्द्रमा रहेका बिरामी, कुरुवा तथा अस्पतालका कर्मचारीलाई दैनिक रुपमा तीन छाक खाना खुवाइरहेको उद्योगी अग्रवालले बताए ।

‘कोरोना भाइरसका कारण खान नै समस्या भएको सुन्नमा आएपछि हामी दुई जना र समपर्ण सेवा संस्थाले मिलेर उनीहरुलाई खाना खुवाइरहेका छौं,’ उनले भने, उनले भने, ‘सरकारले गरेको लकडाउन अवधिभर उनीहरुलाई खाना खुवाउँछौं । यदि लकडाउन खुलिसके पनि उनीहरुलाई खाना अभाव हुन्छ भने त्यसपछि पनि हामी खाना खुवाउन तयार छौं ।’
बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डायलाइसिस गराइरहेका बिरामी, बिरामीका कुरुवा एवं केन्द्रका कर्मचारीका लागि खानाको व्यवस्था गरेको हो । समितले वैशाख १ गतेदेखि दैनिक बिहान बेलुकाको खाना एवं दिउँसो खाजा समेत दिंदै आएको छ ।

नियमित डायलाइसिसमा आउने बिरामीलाई लकडाउनका कारण खाना खान समस्या भएको देखेपछि आफूहरुले निशुल्क खाना खुवाउन थालेको बताउँछन् ‘बाहिर कतै क्यान्टिन, पसल खुलेका छैनन् त्यसैले उहाँहरुका लागि हामीले खानाको व्यवस्था गरेका हौं’ उद्योगी डोकानियाले भने ।
केन्द्रमा विगत ५ वर्षदेखि डायलाइसिस गराउँदै आएकी मुगुकी जानुदेवी बुढा केन्द्रमै खाना खाजा पाएर मख्ख छिन्। उनले भनिन्, ‘सबै बन्द छ कोठामा सबै सामान सकिएको बेला यहीं खाना पाएकी छु जसले खुवाएको भए पनि उहाँहरुलाई धन्यवाद दिन्छु ।’

केन्द्रका कार्यकारी निर्देशक डा ऋषि कुमार काफ्लेले यस्तो विषम परिस्थितिमा यहाँ कार्यरत कर्मचारी तथा उपचारमा आउने बिरामीलाई निशुल्क भोजनको व्यवस्था गरेर समितिले उदाहरणीय काम गरेको बताए । हाल राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा ९ सय जनाले निशुल्क डायलाइसिस सेवा लिइरहेको छन् भने केन्द्रमा करिव २५० जना कर्मचारी छन् ।