चितवन। वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन-मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाएको छ।
पानी पर्न छाडेर चाडपर्व पनि सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो। नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन-मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार कामलाई तीव्रता दिन थालिएको छ।
पुलको पहुँच सडकको काम सुरु गरिएको छ। चार वटा पुलको पहुँच सडकको काम गर्न लागिएको हो। पुल र अन्य भागमा बेरियर राख्ने काम थालिएको छ र ड्रेनको काम पनि सुरु गरिएको छ।
उनका अनुसार दुई/तीन दिनमा कालोपत्रको काम थाल्ने तयारी गरिएको छ। यस खण्डको ३८ दशमलव ८६ किलोमिटरमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ। थप पाँच किलोमिटर सडक कालोपत्रका लागि अन्तिम तयारी गरिएको छ।
दरैका अनुसार अन्तिम तयारीमा पुगेको ठाउँमा कालोपत्र गर्न लागिएको हो। यससँगै अन्य ठाउँमा कालोपत्रका लागि तयारीको काम गरिने छ।
उक्त सडकखण्डमा पर्ने अन्य दुई पुलमध्ये चरौदी खोलको पुलको एउटा फाउण्डेसन हालिएको छ। अर्कोतर्फको गरिँदै छ भने हुग्दी खोलाको पुलको दुवै फाउण्डेसन तयार भइसकेको छ।
दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ। यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्ने छ। जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ। सात दशमलव दुई किमी सडक चार लेन हुनेछ।
चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो-ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए। उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ।