पर्सा। वीरगञ्जस्थित घण्टाघरदेखि अलखियामठसम्मको खण्डमा बाँकी रहेका संरचना आजदेखि हटाउन पुनः सुरु गरिएको छ। सडक डिभिजन कार्यालय, हेटौँडाले वीरगञ्ज महानगरको मुख्य सडक घण्टाघर-अलखियामठ खण्डलाई विस्तार अभियान पुनः प्राथमिकताका साथ सुरु भएको हो।
गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन अभियान केही दिनका लागि स्थगित गरिएको सडक विस्तार पुनः सुरु गरिएको डिभिजन कार्यालयका इन्जिनियर दुर्गाप्रसाद शर्माले जानकारी दिए।
उनले वीरगञ्जको घण्टाघर क्षेत्रको सडकमा अहिले सात वटामध्ये पाँच वटा डोजरले काम गरिरहेको जानकारी दिँदै घण्टाघर नजिकैका सात किलो मिटरभित्रका ६०० जति घर भत्काइएको बताए। उनले अब यस क्षेत्रको सडक विस्तार अभियान निरन्तर सञ्चालन हुने पनि बताए।
वीरगञ्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले गत वैशाख ६ गतेदेखि अभियानलाई सक्रिय रूपमा अघि बढाउँदै पहिलो चरणमा मुख्य सडकको दायाँ-बायाँ २५-२५ मिटरभित्र पर्ने करिब एक हजार २०० संरचनाको अगाडिको भाग डोजर प्रयोग गरी हटाइएको थियो।
डिभिजन कार्यालयले यही साउन २ गते सूचना जारी गरी डिभिजनअन्तर्गत त्रिभुवन राजपथको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडकखण्डमा सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सडक सीमा संरक्षण कार्य सञ्चालन भइरहेको जनाउँदै उक्त क्षेत्रभित्र रहेका पसल वा अन्य संरचना तुरुन्त खाली गर्न हुन, घरभित्र कोही नबस्न हुन, घरभित्र रहेका सामान हटाउन अनुरोध गरेको थियो।
कार्यालयले सूचनामार्फत होटल, लज र अतिथि गृहमा पाहुना नराख्न हुन सम्बन्धित सबैमा जानकारी पनि गराएको थियो।