काठमाडौं। डेडिकेटेड/ट्रंक लाइन प्रकरणमा विद्युत् लाइन काटिएका २५ उद्योगमध्ये २२ वटाले पहिलो चरणको बिजुली बक्यौता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। २५ मध्ये दुई उद्योग एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगको नियमित महसुल नगरी बन्द भएका छन्।
प्राधिकरणले निर्धारण गरेको कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको प्रवक्ता राजन ढकालले जानकारी दिए। पहिलो किस्ताको बक्यौता तिरेसँगै ६ वर्षदेखिको विवाद समाधान भएको छ।
प्राधिकरणले गत असोज १२ मा २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्यदिनको समय दिएको थियो । सो सूचना अनुसार १३ औद्योगिक ग्राहकले बक्यौता तिरेका थिए भने नतिरेका २५ उद्योगको लाइन काटिएको थियो।
प्राधिकरणले कात्तिक ४ मा ठूला ६ उद्योगको लाइन काटेको थियो भने कात्तिक ७ मा बाँकी उद्योगको बिजुली आपूर्ति काटेको थियो। डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा रहेका ६ वटा उद्योगले भने अन्तरिम आदेश लिएकाले विद्युत् लाइन काटिएको थिएन भने सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टले यसअघि नै भुक्तानी प्रतिबद्धता जनाएका कारण लाइन काटिएको थिएन।
प्राधिकरण प्रवक्ता ढकालका अनुसार १३ वटा उद्योगले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तानीका लागि किस्ताबन्दी सुविधा सुरु गरी भुक्तानीसमेत गरेका थिए। किस्ताबन्दी सुविधा लिनेमा १४ करोडभन्दा धेरै बक्यौता रहेको हुलास स्टिलले पहिलो किस्ताबापत ५० लाख ४३ हजार बुझाएको छ।
अशोक स्टिल्स, हामा आइरन एन्ड स्टिल्स, लक्ष्मी स्टिल्स र सर्वोत्तम सिमेन्ट, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, गोयन्का फुड्स, श्याम प्लास्टिक उद्योग, पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, एसआर फुड्स, भलबारी स्वचालित कारखाना, एसआर स्टिल इन्डस्ट्रिज, एभरेस्ट रोलिङ मिल, रिलायन्स स्पिनिङ मिल्सले पहिलो किस्ता तिरेका छन्।
प्राधिकरणका अनुसार त्रिवेणी सिन्थेटिक यार्न, हिमाल आइरन एन्ड स्टिल्स, शिवम् सिमेन्ट, सोनपुर मिनरल्स एन्ड आयल, कसमस सिमेन्ट फ्याक्ट्री, घोराही सिमेन्ट उद्योग, अर्घाखाँची सिमेन्ट उद्योग, त्रिवेणी स्पिनिङ मिल्स, विशाल सिमेन्ट इन्डस्ट्रिज, जगदम्बा स्टिल्स, जगदम्बा सिन्थेटिक्सले पहिलो किस्ताको बक्यौता तिरेपछि ती उद्योगमा बिजुली जोडिएको छ।