काठमाडौं। अपि पावर कम्पनीले विद्युत् उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मरस्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ। आयोजना लमजुङको बेंसीसहर नगरपालिकामा छ।
सम्झौताअनुसार ट्रोयर एजी, इटालीले उपकरण आपूर्ति तथा जडान कार्यको जिम्मेवारी लिएको हो। सम्झौतामा ह्यान्सपिटर स्कोल्झोर्न, प्रमुख बिक्री विभाग प्रमुख, ट्रोयर एजी इटाली; पवन ढकाल, अध्यक्ष, ट्रोयर हाइड्रो प्रालि भारत र प्रवर्द्धक कम्पनी दिव्यज्योति हाइड्रोका अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरेका छन् ।
ट्रोयरका लागि यो आयोजना नेपालमा जडान हुने सबैभन्दा ठूलो फ्रान्सिस टर्बाइनमध्येको हो। हाल नेपालमा ट्रोयरले आपूर्ति गरेको सुपर चेपे (९.०५ मेगावाट) र ठूलो खोला (२१.३ मेगावाट) जलविद्युत् आयोजना सञ्चालनमा छन्। त्यस्तै मेवा खोला (५० मेगावाट), सेती खोला (२२ मेगावाट) र स्यार्पु खोला (३.३ मेगावाट) आयोजना अन्तिम चरणको जडान तथा परीक्षणको प्रक्रियामा छन्।
यसबाहेक ट्रोयरले न्यासिम खोला (३८.५ मेगावाट), अपर खुडी (२६ मेगावाट), सभाखोला बी (३२.२५ मेगावाट), लुजा खोला (२४.९८ मेगावाट), अपर म्याग्दी (४६.२५ मेगावाट), अपर म्याग्दी–१ (५३.५ मेगावाट) र दूधपोखरी चेपे (११ मेगावाट) जस्ता आयोजना डिजाइन तथा निर्माणका विभिन्न चरणमा रहेको जनाएको छ।
नेपालमा दीर्घकालीन सेवा र प्राविधिक सहयोग सुदृढ गर्न ट्रोयरले हालै काठमाडौंमा वेयरहाउस स्थापना गरी स्थानीय प्राविधिक टोली गठन गरेको छ, जसले ग्राहकलाई समयमै सहयोग र मर्मत–सम्भार सेवा उपलब्ध गराउनेछ।
सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य पूरा गरी आयोजना विद्युत् उत्पादन गर्न सक्षम हुने अवस्थामा ल्याउनेछ।
सम्झौता कार्यान्वयनपछि आयोजना विद्युत् उत्पादनका लागि तयार अवस्थामा पुग्नेछ। लगानी करिब १० अर्ब रुपैयाँ अनुमान गरिएको आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूह र ७० प्रतिशत ऋण लगानी बैंकबाट हुनेछ । आयोजना दुई वर्ष र ६ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ।